घोकन्ते विद्या

लक्ष्मी प्रसाद देवकोटाको भनाई “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” कण्ठ पार्‍यौ स्कूले जीवनमा तर कसरी चन्द्रमा छुने उद्देश्य लिने वा के हो त्यो भनेर नै सिकिएन वा सिकाइएन । त्यो संगसंगै अरु पनि भनाईहरु कण्ठ पारेका थियौ जस्तो कि “simple living high thinking”, “फलेको हांगो सधै झुल्छ”, ”सादा जीवन उच्च विचार” इत्यादि । कुराहरु त साह्र्रै राम्रा, सुन्दा पनि राम्रा, अर्थमा पनि राम्रा तर त्यसलाई रटाईयो मात्र व्यवहारमा लागू गर्न भने सिकाईएन । सिकाओस् पनि कसरी? सायद शिक्षकहरुलाई नै त्यो कसरी व्यवहारमा लागू गर्ने भन्ने थाहा थिएन होला ।

अहिले बुझ्दा मलाई के लाग्छ भने जुन कुरा आफूले बुझेको हुदैन त्यो अरुलाई बुझाउन र सिकाउन सकिन्दैन अनि व्यवहारमा अभ्यास गर्न पनि सकिन्दैन । त्यस्तो व्यवहारमा लागू गर्न नसकिने, बुझाउन नसकिने कुरा किन रटाएको होला? सुन्दा र भन्दा राम्रो लागे पनि व्यवहारमा लागू गर्न नसक्ने कुरा किन रटाउनु परेको होला? स्कूलको भित्ताहरुमा त्यस्ता भनाईहरु लेख्नु भन्दा त बरु फूलबुट्टा भर्दा नै राम्रो देखिन्थ्यो । बुझ्न नपर्ने हेरेर आनन्द आउने ।

Photo credit: pinterest, uploaded by Marlene Goldsmith

“सादा जीवन, उच्च विचार” त भन्यो, तर सादा जीवन के हो? सादा जीवन कसरी जिउने ? सादा जीवनको कुरा सबैले गर्छ तर सादा जीवन सबैले जिउन सक्दैन वा जान्दैन । अहिलेको प्रतिस्पर्धात्मक समाजमा ठूलो सोच्ने पनि कमै छ र सादा जीवन रुचाउने त झन् कम ।

राम्रो घर, राम्रो गाडी, राम्रो काम र व्यवसाय, राम्रो लुगा, मोबाइल फोन, घटी, र राम्रो जीवनशैलीको चक्करमा मान्छेले “सादा जीवन उच्च बिचार” कुन चराको नाम हो नै बिर्सिसकेका छन् । घरघरमा, चोकचोकमा लाखौं र करोडौंको कुरा मात्र सुन्न पाइन्छ । ती लाखौं करोडौंमा उच्च बिचारको कुरा त कहां हो कहां तुच्छ बिचार मात्र सुन्न पाइन्छ । कसैले सिकेकै छैन उच्च बिचार के हो, अनि हामीले देखेको सिकेको र सिकाईएको जे छ त्यहि नै त सोच्छौ र गर्छौ ।

उद्देश्य पनि त्यहि हो सिकार्ईएको सानो बच्चाहरुलाई प्राथमिक विद्यालय देखि उच्च–माध्यमिक विद्यालयसम्म सोध्ने प्रश्न “तिमि ठूलो भएर के बन्छौ?” वा “तिम्रो जीवनको उद्देश्य के बन्ने?” । यहां मान्छे ४० वर्ष काटी सकेर पनि आफ्नो जीवनमा के भइरहहेको छ थाहा पाउदैनन् र अब के गर्ने भनेर अन्योलमा छन् । त्यहि स्कूले केटाकेटीहरुलाई “तिम्रो जीवनको उद्देश्य के हो?” भनी निबन्ध लेख्न लगाउछन् । तर त्यहि उसको इच्छा के हो, उसलाई के कुरा गर्न मन लाग्छ त्यो हेरीन्दैन । रुची र इच्छा अनुसारको सीप र ज्ञानहरु दिइन्दैन ।

विज्ञान, प्रविधि, संचार, यातायात, अर्थतन्त्र लगायत समाजका विभिन्न क्षेत्रले फड्को मारेर धेरै अगाडि बढीसक्यो तर हाम्रो शिक्षा अहिले सम्म पनि १०० वर्ष पुरानो “घोकन्ते विद्या धावन्ते खेती” नै रटेर बसेको देखिन्छ । अहिले त खेती पनि धावन्तेबाट निकै माथि पुगिसक्यो । माटो बिना, हावा (aeroponics) र पानी (hydroponics) बाट मात्रै पनि कृषि उत्पादन गर्ने प्रविधि आइसके तर हाम्रो शिक्षा उहि हलोगोरु जोतिरहेको किसानको फोटा देखाएर “उ किसान हो” भन्दै बच्चालाई रटाउदैछ ।

कक्षा कोठाहरु उस्तै छन्, सिकाउने तरीका पनि उस्तै । अनि बच्चाहरुले जीवनको उद्देश्य के हो र सादा जीवन कसरी जीउने भन्ने बारे कहिले सिक्लान्? सिक्न त सिक्छन् जब ४० पछि जब अलिअलि गोजीमा पैसा हुन्छ अनि बाबाजी, गुरुजी, लाईफ कोच (life coach) आदिका आश्रम र रिट्रिटहरुमा गएर जीवन जीउने कला सिक्छन् । “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक”, “सादा जीवन उच्च विचार” जस्ता वाक्यलाई डिकोड (decode) गर्छन् र बल्ल ऊं शान्ति भन्छन् । कि कसो?

Leave a comment

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.