उताबाट (मोबाइलको स्क्रिनबाट) प्रश्न आउँछ, “नेपाली व्यन्जनवर्णमा कतिवटा अक्षर छन् भनिस्यो त ?” हतार हतार नेपाली किताबको वर्णमालामा गनेर म उता नसुन्ने गरी छोरीलाई ईसाराले “३५” भन्छु । छोरी पनि जाने जत्तिकै गरेर “३५ म्याम” भन्छिन् । म्याम भनेको मलाई मन पर्छ । पहिले पहिले गुरुआमा, त्यसपछि मिस र अहिले म्याम हुनुभएको छ शिक्षिकाहरु । बोल्नलाई सजिलो र सबैलाई समान र सम्मान व्यक्त हुने । जिब्रो बटारेर “गुरुआमा” भन्नु भन्दा त “म्याम” नै राम्रो । आफू स्कूल पढ्दा पिरियडै पिच्छे लेग्रो तानेर “गुरुआमा…. नमस्ते…” भन्थ्यौ । “म्याम” भन्दा केटाकेटीहरुले लेग्रो तान्नै पाउँदैनन् ।
जति छोरीको पढाई बढ्दै जाँन्दैछ उत्ति नै मेरो पनि । कहिले काहि मैले स्कूल पढ्दै पढिन कि जस्तो पनि लाग्न थालेको छ । “क देखि ज्ञ सम्म भनिस्यो त बेबी” भन्ने प्रश्न उताबाट आउँदा म पनि छोरीसंगै भन्न थाल्छु (मोबाइलमा नदेखिने गरी) । क देखि ज्ञ सम्म पुग्दा चार ठाउँमा अड्किन्छु । ञ पछि के आउँछ रे? भन्दै । नेपाली बच्चाका लागि त गाह्रै छ तर मेरो लागि पनि सजिलो छैन । बच्चाको त के कुरा गर्नु ऋ लेख्न मेरै पनि पसिना छुट्छ । तर पनि लेख्न सिकाउनै पर्यो ।
बल्ल बल्ल छोरीलाई गृहकार्य गराएर पठायो, उताबाट “र मा ह्रस्व उकार” लेखेको मिलेन भनेर “रि–डु” (फेरी गर) भनि पठाउनु हुन्छ । आमाले नै ह्रस्व–दीर्घ नजानेपछि छोरीको त गल्ति हुने नै भयो । किनभने मेरो लागि “रु” एउँटै मात्र छ । अहिले सम्म त्यहि एउटै खाले “रु” ले काम चलिराखेको पनि छ । त्यसैले त्यसलाई ध्यानै दिएको थिइन । तर मन्टेश्वरीमा यस्तो हुँदैन, शुद्ध त लेख्नै पर्छ । अब यो “रि–डु” आमाले गर्ने कि छोरीले? मरेर चार घण्टा पछि लागेर लेखाएको होमवर्क “रि–डु” आउँदा त, अब कसरी फेरी गराउने परेन फसाद । अब यस्ता “रि–डु” आउनु अगावै आमाले ह्रस्व–दीर्घ जस्ता नेपाली मात्राहरु कसरी लाग्छन् भन्ने सिक्नै पर्ने भयो ।
नेपाली त आफ्नै भाषा हो र त यस्तो गाह्रो छ । अंग्रेजी भाषा त अर्काको स्वत गाह्रो हुने नै भयो । छोरीले मन्टेश्वरी जान थालेपछि बल्ल नर्सरी राइमले के भनेको बुझ्दैछु । पहिले त “बा बा हियर, बा बा दियर” भनेको सुन्थे, अहिले थाहा पाउँदैछु भेडा कराएको रहेछ । फूल, तरकारी, फलफूल र जनावरका नामहरु पनि अहिले थाहा पाउँदैछु । यो चाहि म्याहरुले पढाएको भन्दा पनि यूट्युव (youtube) स्कूलबाट सिकेको । यूट्युव स्कूले भन्टालाई एगप्लान्ट (eggplant), नेपाली सुन्तलालाई टेन्जरीन (tangerine), विदेशी ठूलो खाले सुन्तलालाई अरेन्ज (orange), साना कागतीलाई लाईम (lime), ठूलो कागतीलाई लेमन (lemon) भन्छ । त्यस्तै पनि रहेछ तर यी कुरा म्यामहरुले सिकाउने पठ्यक्रममा छैन । त्यसैले छोरी र म दुवै दुविधामा छौ, के भन्नुपर्छ भनेर । अंग्रेजी बोल्ने देशकाले भनेका मान्ने कि आफ्नै म्यामले भनेको मान्ने । आफ्नै म्यामले भनेको नमाने फेरी “रि–डु” आउँला, मान्नै पर्यो ।
मन्टेश्वरीमा बोलिने भाषा मलाई रमाइलो लाग्छ । बच्चाहरुलाई अत्यन्त सम्मानजनक बोलि बोलिने रहेछ । “तपाई” पनि होइन, राजकिय भाषा “बक्स्योस्” नै बोलिने रहेछ । “यस्तो भनिस्योस् त बेबी” भन्दा त मेरो आफ्नै बेबी पनि “रोयल–बेबी” भएछ जस्तो लाग्ने । राजतन्त्रत त नेपालबाट सकियो तर राजकीय भाषा मोह यथावत रहेछ । हुन त उहाँहरुलाई पनि अर्काको बच्चालाई किन रोयल–बेबी बनाउन रहर छ होला र? “धेरै हल्ला नगर्, अहिले पाँच औलाको छाप बसाइदिन्छु” भन्नु मन लाग्दो हो, हाम्रो पालामा जस्तो, तर मिलेन । गागिरको सवाल छ । त्यहि जागिर कै सवाल कै कारण दिनमा एक घण्टा चिरिबिरी कराउने चराहरु जस्ता बच्चाहरुलाई … म मा ृ कार (ऋकार) लगाई मृग, क मा हलन्त लगाएर क् र आधा क् लेखिस्योस् है … भनेर पढाउनु हुन्छ । केटाकेटीहरु “हस् म्याम” भनेर चिरबिराउँछन् । म आमा आधा अक्षर, हलन्त, रेफ, रसंग जोडिएर आउने (हाम्रा, राम्रा, राष्ट्र) शब्दहरुको नियम के हो र यसबारे बच्चाहरुलाई कसरी बुझाउने ? पहिले पढेको त सबै पोलेर खाएछु, अब फेरी पढ्नै पर्यो ।
मन्टेश्वरीमा पढ्दा अर्को रमाइलो कुरा के भने प्रशस्तै प्रोजेक्ट वर्क गर्न पाइन्छ । प्रोजेक्ट वर्कमा नक्सा बनाउने, नक्सा टाँस्ने, लेख्ने, कागज काटेर टास्ने यावत् कामकुराहरु गर्नुपर्ने हुन्छ । स्कूल लाग्ने भए हस्याङ–फस्याङ गर्दै स्टेसनरी तिर चित्र किन्न दौडनु पथ्र्यो । अहिले विस्तारै पठाउँदा पनि हुन्छ तर पनि प्रोजेक्ट वर्क बच्चाले भन्दा आमाले नै धेरै गर्नुपर्ने हुन्छ । आमाहरु घरमा फुर्सदमा बसेका हुन्छन् भन्ने थाहा पाएरै होला उहाँहरुले हामीलाई काम दिनुभएको ।
मैले पढाई सुरु गर्दा (यो चाँहि गाउँको कुरा हो) केटाकेटीहरुलाई भूईमा चटाइ राखेर बसाइन्थ्यो । डेक्समा धूलो राखेको हुन्थ्यो अनि त्यो धूलोमा हातले अथवा खरी ढुंगाले लेख्न लगाउनु हुन्थ्यो गुरुबा/गुरुआमाले । अहिले मन्टेश्वरी टेक्निकमा बच्चालाई कलम दिन अघि अक्षर कसरी बग्छ/घुम्छ त्यसबारे ज्ञान दिनु, बालुवामा हात घुमाउन सिकाउनु र शब्दहरुका अवधारणा (concept) बुझाउनु अनि मात्र पेन्सिल दिनु भन्दा रहेछन् यूट्युव स्कूलका मोन्टेश्वरी विज्ञहरुले । हाम्रो मन्टेश्वरीमा बच्चाहरु फोहर हुन्छन् भनेर होला सिधै कपी र पेन्सील दिएर भटाभट लेख्न लगाउनु भएको होला । एक घण्टाको मन्टेश्वरी जुम कक्षामा सर्रसरी पढाउने, प्रश्न सोध्ने र ४–५ पाना लेख्ने होमवर्क दिनुहुन्छ म्यामहरु । छोरी पट्टी मोवाई फर्काएर नदेख्ने गरी मोवाइल पछाडि बसेर म पनि मन्टेश्वरी पढ्छु । प्रश्नको उत्तर दिन सानो स्वरमा बोल्छु, छोरीले पनि बुझिहाल्छिन् र उत्तर दिईहाल्छिन् । म्यामहरुले पनि “स्यवास् बेबी” “भेरी गुड बेबी” भन्नुहुन्छ । म्यामहरुले पनि बेबीको आमाले बोलेको सुने पनि नसुने झै गर्नुहुन्छ होला किनभने बेबीको आमाले नजानेसम्म बेबीले जान्नेवाला छैन किनभने उहाँहरुलाई पनि थाहा छ बच्चालाई पढाउने काम त बेबीका आमाहरुले नै गरेका छन् भनेर ।
यी त भए मेरा आफ्ना अनुभवहरु । तपाईको अनुभव कस्तो छ? कमेन्ट बक्समा कमेन्ट गर्नुहोला । धन्यवाद ।