जादाजादै बाबाले दिनुभएको शिक्षा

एक दिन बाबाले खाना खाँदै हुनुहुन्थ्यो र म दिदै । खाना खाने क्रममा उहाँले मलाई एउटा कथा भन्नु भयो । कथा मुन्धुमको थियो । त्यो कथा मैले पहिले पनि सुनेको र वैरागी काईलाले संकलन गर्नुभएको चःइत् मन्धुममा पढेको पनि थिए । तर उहाँले कथासंगै त्यसको व्याख्या पनि गर्नु भएको थियो ।

पोरोःक्मिबा यम्भामिबा/पोरोःक्मि यम्भामिबा (सृष्टिकार्यमा ईश्वरलाई सहयोग गर्ने देवता) ले पृथ्वी, पानी, हावा, डाडाकाडा, वन–जंगल, फलफूल र जीवजन्तु सबै सृष्टि गरीसकेपछि त्यसको रेखदेख गर्न मान्छेको सृष्टि गर्नुपर्छ भनी सोचे । शुरुमा उनले बहुमूल्य रत्नको मान्ते बनाए तर बोलेन, त्यसपछि ढुंगामाटोको मान्छे बर्ना तर साह्रै सानो भएकोले उनीहरुलाई खाम्बोङ्बा–लुङ्बोङ्बा भई जमीनमुनी बस्नु भने र अन्तमा सुली र खरानीले मान्छे बनाए । त्यस मान्छेलाई “ऐ मान्छे” भनी बोलाउँदा बोल्यो । त्यस्तो जाबो सुली र खरानीले बनाएको मान्छे बोलेको देखेर पोरोःक्मिबा यम्भामिबाले “थुक्क” भन्दा खेरी त उ शिर ढलेर मर्‍यो ।

त्यत्ति कथा भनेपछि उहाँले मलाई भन्नुभयो सृष्टिकर्ता देवताले सधै अजर–अमर हुने मान्छे बनाउन मन थियो तर कसै गरी पनि त्यस्तो मान्छे बनाउन सकेनन् अनि मरिजाने मान्छेको सृष्टि भयो । त्यसैले मुन्धुमको त्यस कथाले यो धर्तिमा कुनै कुराको सृष्टि हुन्छ भने त्यसको अन्त्य पनि हुन्छ भन्ने कुरा त्यसको मूल सन्देश हो भन्नुभयो ।

फोटो: बाबाले लेख्नु भएको लिम्बू संस्कृति र धर्म सम्बन्धि किताब

सुली र खरानीले बनेको मान्छे शिर ढलेर मर्‍यो । त्यो मान्छेलाई व्युत्याउनको लागि पोरोःक्मि यम्भामिबा देवताले उसको शिर उठाएपछि उ जीवित भयो । त्यसैले लिम्बू समुदायमा “शिर उठाउनु”को अर्थ धेरै हुन्छ र त्यसैको आधारमा उहांले “चो?लुङ” को दर्शन बारे लेख्नु भयो (यस बारे बितृत उहाँको लेख Cho?lung: The Core of the Political Philosophy in Yakthung Mundhum) मा हेर्नुहोला) । यसमा चो?लुङ दर्शनले मानव रुपी चोला जति बाँचिन्छ, त्यसमा शिर उच्च राख्नु अर्थात् आत्मसम्मानका साथ, गर्व साथ, न्यायसंगत भएर जीवन जिउनु नै अमर हुनु हो भन्ने मूल कुरा छ भन्नु भएको छ ।

फोटो: चो?लुङ दर्शन सम्बन्धी लेखको पहिलो पेज (लिम्बूवान अध्ययन केन्द्रको प्रकाशन Recoverig Himalayan Cultural Rhetorics:Yakthung Mundhums, Histories, Customary Traditions)

त्यस दिन उहाँले के पनि भन्नु भयो भने जो सृष्टिकर्ता देवता थिए पोरोःक्मि यम्भामिबा, उनी पनि सृष्टि गरिसकेपछि अलप भए । उहाँका भनाईमा आफ्नो कार्य सम्पादन गरिसकेपछि देवताको पनि अन्त्य हुन्छ । त्यसैले पुशुपंछी, वनस्पति र मान्छे मात्र होइन देवताको पनि अन्त्य हुन्छ भन्ने मुन्धुमले बताउँछ ।

यो नै मेरो उहाँबाट पाएको अन्तिम शिक्षा थियो । त्यसपछि त उहाँ उपचारको लागि अस्पताल बस्नु भयो । अस्पताल जान्दा कि त उहा भेट्न आउनेहरुसंग कुरा गरिरहनु भएको हुन्थ्यो, कि त किताब पढीरहनु भएको हुन्थ्यो नत्र आराम गरिरहनु भएको हुन्थ्यो । त्यस बखत खासै कुरा गरिन । धेरै कुरा सोध्नु थियो, बुझ्नु थियो तर सबै अधुरै रह्यो । यत्ति चाडै हामीलाई छाडेर जानुहुन्छ भन्ने सोचेकै थिएनौ ।

फोटो: अस्पतालमा बसेको बेला पढीरहनु भएको किताब

उहाँको कुरा संझदा के लाग्छ भने उहाँ जे काम गर्नको लागि आउनु भएको थियो त्यो उहाँले पूरा गर्नुभयो । उहाँले गरेका थुप्रै काम मध्ये एउटा काम मुन्धुमलाई व्याख्या गर्ने भयो । बिक्रम सुब्बाको भाषामा भन्दा मुन्धुमको “डिकोड” (decode) गर्नुभयो ।

उहाँले भन्नुभएको यो कथा नै मेरो लागि उहाँ आफूसंग भौतिक रुपमा नभएको खालिपनलाई भुलेर अगाडि बढ्ने जीवन दर्शन भएको छ ।

फोटो: नेपालका प्रेरणीयआदिवासी व्यक्तित्व र संघर्षका आयामहरू नामक किताबबाट लिईएको

बैशाख २० गते आज बाबाको देहवसान भएको दुई वर्ष भएको छ । मुन्धुममा मान्छेको देहवसान भएपछि उसको आत्मा पूर्खाहरु बस्ने लोकमा जान्छ भन्ने मान्यता छ । यसै मान्यतामा विश्वास गर्दै बाबा पनि आफ्ना बाबा–आमा र अन्य पूर्खाहरुसंग त्यहि लोकमा रमाईरहनु भएको छ भन्ने लाग्छ ।

घोकन्ते विद्या

लक्ष्मी प्रसाद देवकोटाको भनाई “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक” कण्ठ पार्‍यौ स्कूले जीवनमा तर कसरी चन्द्रमा छुने उद्देश्य लिने वा के हो त्यो भनेर नै सिकिएन वा सिकाइएन । त्यो संगसंगै अरु पनि भनाईहरु कण्ठ पारेका थियौ जस्तो कि “simple living high thinking”, “फलेको हांगो सधै झुल्छ”, ”सादा जीवन उच्च विचार” इत्यादि । कुराहरु त साह्र्रै राम्रा, सुन्दा पनि राम्रा, अर्थमा पनि राम्रा तर त्यसलाई रटाईयो मात्र व्यवहारमा लागू गर्न भने सिकाईएन । सिकाओस् पनि कसरी? सायद शिक्षकहरुलाई नै त्यो कसरी व्यवहारमा लागू गर्ने भन्ने थाहा थिएन होला ।

अहिले बुझ्दा मलाई के लाग्छ भने जुन कुरा आफूले बुझेको हुदैन त्यो अरुलाई बुझाउन र सिकाउन सकिन्दैन अनि व्यवहारमा अभ्यास गर्न पनि सकिन्दैन । त्यस्तो व्यवहारमा लागू गर्न नसकिने, बुझाउन नसकिने कुरा किन रटाएको होला? सुन्दा र भन्दा राम्रो लागे पनि व्यवहारमा लागू गर्न नसक्ने कुरा किन रटाउनु परेको होला? स्कूलको भित्ताहरुमा त्यस्ता भनाईहरु लेख्नु भन्दा त बरु फूलबुट्टा भर्दा नै राम्रो देखिन्थ्यो । बुझ्न नपर्ने हेरेर आनन्द आउने ।

Photo credit: pinterest, uploaded by Marlene Goldsmith

“सादा जीवन, उच्च विचार” त भन्यो, तर सादा जीवन के हो? सादा जीवन कसरी जिउने ? सादा जीवनको कुरा सबैले गर्छ तर सादा जीवन सबैले जिउन सक्दैन वा जान्दैन । अहिलेको प्रतिस्पर्धात्मक समाजमा ठूलो सोच्ने पनि कमै छ र सादा जीवन रुचाउने त झन् कम ।

राम्रो घर, राम्रो गाडी, राम्रो काम र व्यवसाय, राम्रो लुगा, मोबाइल फोन, घटी, र राम्रो जीवनशैलीको चक्करमा मान्छेले “सादा जीवन उच्च बिचार” कुन चराको नाम हो नै बिर्सिसकेका छन् । घरघरमा, चोकचोकमा लाखौं र करोडौंको कुरा मात्र सुन्न पाइन्छ । ती लाखौं करोडौंमा उच्च बिचारको कुरा त कहां हो कहां तुच्छ बिचार मात्र सुन्न पाइन्छ । कसैले सिकेकै छैन उच्च बिचार के हो, अनि हामीले देखेको सिकेको र सिकाईएको जे छ त्यहि नै त सोच्छौ र गर्छौ ।

उद्देश्य पनि त्यहि हो सिकार्ईएको सानो बच्चाहरुलाई प्राथमिक विद्यालय देखि उच्च–माध्यमिक विद्यालयसम्म सोध्ने प्रश्न “तिमि ठूलो भएर के बन्छौ?” वा “तिम्रो जीवनको उद्देश्य के बन्ने?” । यहां मान्छे ४० वर्ष काटी सकेर पनि आफ्नो जीवनमा के भइरहहेको छ थाहा पाउदैनन् र अब के गर्ने भनेर अन्योलमा छन् । त्यहि स्कूले केटाकेटीहरुलाई “तिम्रो जीवनको उद्देश्य के हो?” भनी निबन्ध लेख्न लगाउछन् । तर त्यहि उसको इच्छा के हो, उसलाई के कुरा गर्न मन लाग्छ त्यो हेरीन्दैन । रुची र इच्छा अनुसारको सीप र ज्ञानहरु दिइन्दैन ।

विज्ञान, प्रविधि, संचार, यातायात, अर्थतन्त्र लगायत समाजका विभिन्न क्षेत्रले फड्को मारेर धेरै अगाडि बढीसक्यो तर हाम्रो शिक्षा अहिले सम्म पनि १०० वर्ष पुरानो “घोकन्ते विद्या धावन्ते खेती” नै रटेर बसेको देखिन्छ । अहिले त खेती पनि धावन्तेबाट निकै माथि पुगिसक्यो । माटो बिना, हावा (aeroponics) र पानी (hydroponics) बाट मात्रै पनि कृषि उत्पादन गर्ने प्रविधि आइसके तर हाम्रो शिक्षा उहि हलोगोरु जोतिरहेको किसानको फोटा देखाएर “उ किसान हो” भन्दै बच्चालाई रटाउदैछ ।

कक्षा कोठाहरु उस्तै छन्, सिकाउने तरीका पनि उस्तै । अनि बच्चाहरुले जीवनको उद्देश्य के हो र सादा जीवन कसरी जीउने भन्ने बारे कहिले सिक्लान्? सिक्न त सिक्छन् जब ४० पछि जब अलिअलि गोजीमा पैसा हुन्छ अनि बाबाजी, गुरुजी, लाईफ कोच (life coach) आदिका आश्रम र रिट्रिटहरुमा गएर जीवन जीउने कला सिक्छन् । “उद्देश्य के लिनु उडी छुनु चन्द्र एक”, “सादा जीवन उच्च विचार” जस्ता वाक्यलाई डिकोड (decode) गर्छन् र बल्ल ऊं शान्ति भन्छन् । कि कसो?

मेरो टाउकोको मोल कति होला?

मलाई त कहिले काहि म धेरै गफाडी भए कि जस्तो लाग्छ । गफ मात्र गर्ने, काम नगर्ने – गफाडी । मलाई अरुले पत्याउछन् कि पत्याउदैनन् होला? मलाई गफ गर्ने काम नगर्ने पो भन्छन् कि? दिदीको कुरै के, बुझ्नै नसकिने, भनेको केहि गर्ने होइन भन्छन् होला भाईहरुले । भन्छन् होला को कोले के के । म पनि त भन्छु आफूलाई । अरुलाई त भन्न छाडेको धेरै भयो । अरुले मलाई भनेर पनि केहि हुनेवाला छैन, गर्ने त मलाई जे मन लाग्छ, जे ठिक लाग्छ त्यहि हो । अरुलाई पनि त त्यहि नियम लागू हुन्छ । त्यसैले भन्न छाडेको । यत्ति ज्ञान चै आएको छ, ममा ।

मेरो छाला गैडाको जस्तो भएको छ । भन्नेले भन्दै गर्छ । भनेको कुरा छाला भित्र पस्दैन । कहिले काहि पसिहाल्यो भने पनि त्यसलाई निकाल्न कोशिस गर्छ । निक्लेन भने दवाएर राखिदिन्छु । कुनै दिन त्यसैको तिर हान्न पनि मिल्छ । हा….हा…..हा….!!

Photo credit: Pinterest @veiia

मलाई हामीले चार/पाच कक्षामा पढेको एउटा निबन्ध याद आउॅछ सधै – “टाँउकोको मोल” भन्ने । कस्ले लेखेको हो याद छैन तर त्यो निबन्ध साँचै नै राम्रो रहेछ । मलाई त्यसमा याद भएको कुरा चाँहि, एउटा कानबाट सुनेर अर्को कानबाट निकाल्ने चार पैसे बुद्धि र सुनेको कुरा केहि अर्को कानबाट केहि पेटमा राख्ने पॅचिस पैसे बुद्धि भन्ने थियो । सय पैसे बुद्धि चाहि केहि पेटमा राख्ने, केहि मुखबाट निकाल्ने र केहि कानबाट भन्ने त्यस्तै केहि थियो – राम्रो याद छैन । त्यो निबन्ध फेरी पढ्न पाए हुन्थ्यो ।

त्यो बेला त हामी निबन्ध पढेर हाँस्थ्यौ मात्र । के भनेको होला भनेर । अहिले बिचार गर्दा त त्यसमा एकदम गहन विषय लुकेको रहेछ । शिक्षकहरुले पनि खासै राम्रो बुझाएनन् । हामी आफूले त बुझ्ने कुरै भएन । सायद, त्यस्तो निबन्ध त अलि ठूलो कक्षामा राख्नु पर्ने थियो ।

त्यो निबन्ध अनुसार सबै टाँउकोको मोल हुन्छ । त्यस अनुसार मेरो टाँउकोको मोल कति होला है ? फेरी समय र परिस्थिति अनुसार पनि त टाँउकोको मोल घटाउनु/बढाउनु पर्ने होला नी । चार पैसे, पच्चिस पैसे, पचास पैसे, पचहत्तर पैसे, सय पैसे, त्यस्तै त्यस्तै । सधै त एकनास हुँदैन होला । मैले मेरो टाँउकोको दाम कति राख्ने ? अरुले पनि त दाम तोक्ने होला? कसैले धेरै कसैले थोरै, आआफ्नो टाँउको अनुसार ।

खानाको राजनीति

हामी प्रायः खाना भन्यो कि स्वास्थ्यसंग जोडेर हेछौ कि त चांडपर्व र संस्कृतिसंग जोडेर हेछौ । तर खानाको अर्को महत्वपूर्ण “राजनीति” लाई बिर्सन्छौ । जीवन चल्नै नै खानाले हो । खानैको लागि हामी दिनरात काम गर्छौ । हामी बांच्नको लागि खान्छौ अनि खानको लागि बाच्छौ । जुन कुरा जीवनसंग जोडिएको हुन्छ त्यसमा राजनीति त हुन्छ हुन्छ ।

आजकाल मोबाइल फोनमा गेम खेलिरहन्दा विश्व खाद्य संगठनको एउटा विज्ञापन आइरहन्छ । विज्ञापनमा कहिले सिरिया त कहिले गाजामा भोकमरीले मान्छेहरु मर्दैछन्, उनीहरुलाई बचाउनु छ, खाना पर्याप्त छैन तपाईको सहयोगले हामी उनीहरुलाई खाना खुवाउंछौ भन्दै संगठनका कर्मचारी देखि सेलेब्रिटि र भोका–नाङ्गा मान्छेहरुको अनुहार देखाइरहन्छ । विश्व खाद्य संगठन मात्र होइन अन्य अन्तराष्ट्रिय संघ–संस्थाहरु देखि लिएर दात्रि राष्ट्रहरुका बेभसाइटहरु पनि सहयोग मागि राखेका हुन्छन् । भोकालाई खुवाउने एउटा पक्ष होला अर्को पक्ष आफ्नो कर्मचारी पाल्ने पनि ।

फोटो साभारः http://www.businesswire.com

नेपालका नेताहरुमा त के.पी. ओलीले सन् २०१७ को चुनावी भाषणमा हामी तपाईको मुखैमा खाना ल्याइदिन्छौ भनेरै ख्याति पाएका थिए । त्यस बखत ऐमालेले प्रतिनिधिसभाको चुनावमा धेरै सिट जित्न पनि सफल भएको थियो । चुनावको समयमा त नेताहरुले पार्टी प्यालेसमा all you can eat for free (जति खानुस् सित्तैमा खानुस्) नै चलाएका पनि थिए । सित्तैमा खाएपटि नुनको सोझो गर्न भोट पनि त्यसैलाई नै दिए होलान् । त्यस पछि नेताहरुको ताल देखेर, देशको हालत देखर “मासु–भातमा बिक्रि हुनेहरुले भोट हालेको नेता यस्तै त हुन्छ नी” भन्ने निश्कर्ष कमेडीयन, पत्रकार, विश्लेषक र नयां र युवा नेताहरुले निकाले । नयाँ र युवा नेताहरुको बोलीमा मख्ख परेर सन् २०२२ को चुनावमा भोट हाल्नेहरु अहिले नयाँ र युवा भनेर मात्र नहुने रहेछ भन्ने निश्कर्षमा निकाल्दैछन् । भात खाएर भोट हालेको पनि काम लागेन भात, नखाएर भोट हालेको पनि काम लागेन भन्न थालेका छन् । अब आउने चुनावमा भात दिनेलाइै भोट दिनु कि गफ दिनेलाई भन्ने व्दिविधा भैरहेको होला मान्छेहरुलाई ।

खानाको राजनीति बारे सोच्दै जान्दा यो विश्व राजनीति यसैमा टिकेको पो हो कि जस्तो पो लाग्न थाल्यो । पहिले पहिले गरिब देशका खानाहरु स्वास्थ्यकर छैन भन्ने एक खाले सूचना विभिन्न तरीकाले विश्वभरी फैलाईदियो । भात खानु नराम्रो, तोरीको तेल खानु खराब, खानीको नुन खानु खराब, ध्यू खानु हानीकारक भनी संसारको दिमाग भुटेका थिए । सबैले भातको ठाउमा बरगर, पास्ता, पिजा अनि बटर खान सिके अनि पानीको साटो कोल्ड ड्रिक् र जुस । रिफान्ड तेल खान सिके । परिश्चिमाहरूले प्रविधि बेचे, मेसिन बेचे, उनीहरुकोमा उब्जनी हुने गहुं बेचे । अनि संसारलाई आफू जस्तै हुनपर्छ भनी उनीहरुको पछि पछि लगाए । कहिले विकास भनी पछि लगाए, कहिले हरित क्रान्ति भनी र कहिले परिवार नियोजन भनी । अहिले पास्ताका प्याकेट मात्र होइन हामीलाई चाहिने खेतीपाती गर्ने बिउ–बिजन र मल पनि उतैबाट आउंछ । सबैकुरामा परनिर्भर हुनुपरिरहेको अवस्था छ ।

अब हामी सजग हुने बेला आईसकेको छ । हामीले आफूले खानामा कसैलाई राजनीति गर्न दिनु हुंदैन । आफूले खाने खानाको जोहो आफैले गर्नुपर्छ, बीऊ–बीजनको जोहो पनि आफैले गर्नु पर्छ । कसैले कसैलाई सित्तै केहि पनि दिदैन भन्ने कुरा बुझ्नु जरुरी छ ।

तपाईको जरा कस्तो छ?

हामी चाहन्छौ कि हामी ठूलो झम्म परेको रुख जस्तै होउ । आकाश छेक्ने, हांगाहरु फैलिएर झप्पै पृथ्वीलाई ढाकेको जस्तै ढाकौं । तर यस क्रममा हामी हाम्रा जराहरु त्यत्ति नै गहिरोमा भित्रभित्र धर्तीमा गाड्न बिर्सन्छौ । अग्लो रुख ठाँडो हुनलाई जरा पनि त्यत्ति नै गहिरो हुनु आवश्यक छ । जरा भित्र गडिएर रहेन भने त्यो रुख सानो हावा–हुरीले ढालिदिन्छ । रुखको उचाई जति अग्लो हुन्छ त्यो भन्दा गहिरो त्यसको जरा हुन्छ । जरा नभएको रुख धेरै दिन ठाँडो रहिरहन सक्दैन । हामीले यो कुरा बिर्सन हुँदैन ।

रुख कै मात्र होइन, झार कै पनि कुरा गर्दा, जुन झार फैलने किसिमको हुन्छ तीनका जराहरु पनि बोटभन्दा लामा हुन्छन् । तिनलाई सितिमिति उखेल्न सकिन्दैन । नेपाली भाषामा आषिक दिने वाक्य नै छ, “दुवो जस्तै मौलाई रहुन्” । भन्नुको मतलब दुवो जस्तो फैलने र सधै हरियो हुने हुन । दुवो समृद्धिको प्रतिकको रुपमा लिदै त्यस्तो आर्शिवाद दिएको हो । दुवो फैलनको लागि पनि यसको जराको महत्वपूर्ण भूमिका हुन्छ । यसले आफ्नो जराबाटै नयाँ बोटहरु बनाउँदै गइरहेको हुन्छ । भूईमा केहि नदेखिए पनि जमिन भित्रभित्रै यो जराहरुबाट फैलिरहेको हुन्छ र छेउछाउका भू–भागहरु बब्जा गदै गइरहेको हुन्छ । कुनै बेला फुर्सद पाउनुभयो भने दुवोलाई उखेलेर हेर्नुहोला । दुवोको फूल फूल्छ र बीउ पनि लाग्छ तर बीउबाट नयाँ बिरुवा बन्ने भन्दा जराबाट नयाँ बिरुवा बनाउने काम यसले चाँडो गर्छ । त्यसैले जरा बलियो हुन यसको लागि पनि महत्वपूर्ण छ ।

फोटो: जरा सहितको स्नेक प्लान्टको विरूवा

कुनै पनि बिरुवाको जारा बलियो भए मात्र उसले राम्रो फूल र फलहरु दिन सक्छ । कुनै बिरुवाले भनेजस्तो फूल र फलहरु दिइरहेको छैन भने उसको जरा हेर्न आवश्यक हुन्छ । जराहरु कति बलिया छन्, जरामा किरा लागेको छ/छैन र जराबाट यथेष्ट मल–पानी पाएको छ/छैनजस्ता यावत कुराहरु हेर्न अत्यावश्यक हुन्छ ।

यदि मान्छेले आफू ठूलो रुख जस्तो हुने वा दुवो जस्तो मौलाउने हो भने मान्छेले पनि आफ्ना जराहरुलाई बलिया बनाउनु आवश्यक छ । आफूले कस्तो खुराक (दिमागी र शारीरिक) खाइरहेको छु, कस्ता मूल्य–मान्यताहरु लिईराखेको छु, अनि कस्तो व्यवहार गरीराखेको छु त्यसले तपाईको जरालाई बलियो बनाउछ ।

हरेक दिन नयाँ वर्ष किन नमान्ने?

वर्षको पहिलो दिन राम्रो भयो भने पुरै वर्ष राम्रो हुन्छ भन्छन् । यो कुरा सानैबाट हाम्रो दिमागमा घुसाईदिएको छ । यसरी घुसाईदिएको छ कि, होइन भन्ने थाहा हु‘दाह‘ुदै पनि हो भन्ने नै लाग्छ । हामी नयॉ वर्षलाई कसेसम्म रामाइलो बनाउन लागि पर्छाै । मेरो आमाले संक्रान्तिमा सधै राम्रो बोल्नु, राम्रो खानु, नराम्रो नगर्नु भन्नु हुन्छ । यो नयॉ वर्ष भनेको पनि संक्रान्ति नै त हो । अंग्रेजी महिनाको होस् वा नेपाली, महिनाको पहिलो दिन संक्रान्ति नै त हो । यो सानो छदा दिमागमा घुसाइदिएको कुरा धेरै पछि सम्म पनि छाड्न गाह्रो हुने । जुन कुरामा लजिक छैन तर पनि यो विश्वासमा विश्वास लाग्ने । नयॉ वर्षकै उदाहरण लिन सकिन्छ, नयॉ वर्षको सुरुआत राम्रो भए वर्ष पनि राम्रो हुन्छ भन्ने मान्यता कै कारण पनि वर्षको पहिलो दिनलाई विशेष बनाउने कोशिसमा लाग्छौ ।

photo: hamropatro.com

तर एउटा कुरो नी, यसरी नै वर्षका हरेक दिनलाई विशेष बनाउनको लागि मेहेनत र लगन देखाए त हरेक दिन विशेष हुन्थ्यो होला नी हैन । सॉचै † हामीले किन त्यस तर्फ ध्यान नदिएको होला नी? हरेक दिन बॉच्न पाउन पनि त अवसर हो । त्यसैले हरेक दिनलाई खुशीयालीको रुपमा किन नमनाउने?

हो । अब हरेक दिनलाई विशेष दिन मान्नुपर्छ । हेरक दिन बॉच्नु पाएकोमा धन्य हुनुपर्छ । आफ्ना प्यारा प्यारा मान्छेहरुसंग रमाइलो गरेर बिताए राम्रै हुन्छ नी, हैन र?

साउने संक्रातिको तिउरी

असार-साउन महिना आर्थत् तिउरीको फूल फूल्ने अनि फर्सि फल्ने मौसम । तिउरीको फूल र फर्सिको काडा भएको घोच्ने पातले मलाई सधै साउने संक्रान्तिको संझना गराउँछ । साउने संक्रान्तिको रात हातमा मेहन्दी र तिउरी लगाउने चलन छ । यसरी हातलाई रातो बनाउँदा रोगव्याधी नलाग्ने र शुभशुभ हुने विश्वस गरिन्छ । अहिले त नेपालको गाडि पुग्ने ठाउँमा सबैले मेहन्दी नै लगाउँछन् । शहरबजारका कतिपय मानिसले मेहन्दी त सजिलै चिन्छन् होला तर तिउरी चिन्दैनन् र तिउरीले पनि हात रंगाउछन् र ? भन्दा पनि होलान् । तर गाउँघरमा भने मेहन्दी भन्दा पनि बढी तिउरीले नै हात रंगाउने चलन बढी छ । अर्को कुरा मेहन्दी गर्मी ठाउँमा मात्र पाइने र तिउरी पहाडमा पाइने विरुवा भएकोले गर्दा पनि होला पहाडी गाउँघरमा यसको प्रयोग धेरै गरेको पाइन्छ । जे होस् हात रंगाउने परम्परा मलाई मात्र नभई धेरैलाई रमाइलो र रोचक लाग्नसक्छ ।

अहिले मेहेन्दी लगाएको मेरो हात


हात रंगाउन मलाई सानै देखि मन पर्थ्यो । त्यसैले हातमा लगाउने तिउरीको रंगलाई कसरी गाढा बनाउने भनी हामी फूपू र बोजूहरुलाई सोधिरहन्थ्यौ । कसैले तिउरीमा फिटकिरी मिसाएमा रातो हुन्छ भन्नुहुन्थ्यो भने त कसैले मगरकाँचे (एक प्रकारको विरुवा) हालेमा रातो हुन्छ भन्नुहुन्थ्यो । कतिले त परेवाको विष्टा पनि तिउरीमा पिसेर लगाउने गरेको भनुहुन्थ्यो । हामी उहाँहरुले भने अनुसार मगरकाँचेको विरुवा खोज्न बारीका कान्ला र भित्ताहरु छिचोथ्यौ । तीनलाई तिउरीसंग मिसाएर सिलौटाले पिस्ने पनि गथ्र्यौ । त्यत्तिबेला उमेर सानै भएकोले होला तिउरी लाउन चाहि आउदैनथ्यो । साउनको महिनामा धेरैजसोको हत्केला रातो हुने गर्दथ्यो र आफ्नो हत्केला रातो नहुँदा त म पनि आमालाई किचकिच गर्थे होला । साउनमा हत्केला रातो पार्न नपाए मेरो मुख रातो हुन्थ्यो होला (रिसले), त्यसैले मेरो आमाले राती हामी सुतिसकेपछि हाम्रो (म अनि मेरो दाजुभाईको) हातमा तिउरी दलेर फर्सिको पातले बेरीदिनुहुन्थ्यो । तिउरीको पेष्ट छताछुल्ल भएर लुगा नविगारोस् भनेर फर्सिको पातले बेरिदीनु भएको होला । जो होस्स् बिहान उठ्ने बेलामा हाम्रा हातहरुमा बक्सिङ खेल्नलाई तयार हरीयो रंगको बक्सिङ ग्लोब लगाए जस्तो हुन्थ्यो । तर यो बक्सिङ ग्लोब फर्सिको पातले बनेको हुँदा धेरै चिलाउने गर्थ्यो। तर हातमा लाग्ने रातो रंगको लालसाले म त्यो चिलाउने फर्सिको ग्लोबलाई हातबाट आमाले नभनेसम्म फुकाल्दिनथे । जब त्यो चिलाउने फर्सिको ग्लोबलाई फुकाल्नको लागि हामी तयार हुन्थ्यौ, कस्को हात बढी रातो भयो भन्ने प्रतिस्प्रर्धा पनि त्यहिबाट शुरु हुन्थ्यो ।


अहिले त हामी हात रंगाउन तिउरी भन्दा मेहन्दी कै प्रयोग गर्र्छौ तर मौसम अनुसार अहिले फर्सिको मुन्टा खाने बेला भएको हुँदा कहिले काहि फर्सि मुन्टा केलाउँदा फर्सिको पातले घोचि हाल्छ अनि त्यो सानो बेला लगाएको हरियो बक्सिङ ग्लोबको याद आइहाल्छ ।

लिम्बू महिलाको लागि युप्पारूङ्

लिम्बू समुदायको विवाह संस्कारमा नभै नहुने वस्तु हो युप्पारुङ् । कहीकही यसलाई युप्पालुङ् पनि भन्ने गरिन्छ । युप्पाको शाब्दिक अर्थ चाँदिको ढ््याक÷पैसा भन्ने हुन्छ । यसलाई लिम्बू–अंग्रेजी–नेपाली शब्दकोशमा “लगनको समयमा वर र वधूलाई आजीवन विवाह–बन्धनमा बाँधी बाचा गराउँदा प्रयोग गरिने चाँदिको टक र (विवाहलग्नअधि बेहूलीलाई दिइने) बैना” भनेर अर्थ लगाइएको छ । हामीले देख्दै आएको युप्पारुङ् वा युप्पालुङ् भनेको विवाहमा बेहुलीलाई बेहुलाको तर्फबाट दिइने चाँदिको रुपैयाको ढ््याक नै हो ।


शाब्दिक अथै जे भएपनि युप्पारुङको सांकेतिक (symbolic) अर्थ धेरै महत्वपूर्ण छ । युप्पारुङ एक जिम्मेवारीको प्रतिक हो भने यो महिलाको लागि गरिएको विषेश व्यवस्था पनि हो वा महिलाको स्वतन्त्र हुनका लागि प्रयोग गरिने साँचो पनि हो । माथि भनिए झै विवाहमा लगन गर्नु अगाडि बेहुलाले बेहुलीलाई बाचा बन्धन गरीे चाँदिको एक रुपैया बेहुलीको पोथाङको छेउमा बाँधीदिन्छ । फेदाङमाले बेहुलालाई चाँदिको रुपैया बाधाउनु अधि आफ्नी श्रीमतीको साथ दिने, इज्जत साथ घरमा राख्ने, कुनै किसिमको र्दुव्यवहार नगर्ने, श्रीमती प्रति बफादार रहने र त्यस्तो नगरेमा त्यहि युप्पारुङ्ले श्रीमतीले श्रीमानको निधारमा हानेर वैवाहिक सम्बन्धको अन्त्य गर्नसक्नेछिन् भनी बाचा बन्धन गराएको हुन्छ ।


युप्पारुङमा गरीएको बाचा बन्धनले लिम्बू समुदायमा विवाह भनेको एक करार हो भन्ने मान्यता स्पष्ट देखिन्छ । करार गर्दाका सर्तहरु पूरा नभए वा नगरीए करार भंग गर्न सकिने कुरा पनि यहाँ देखिन्छ । युप्पारुङ दिदा गरिएको करार पुरुषले तोडेको खण्डमा महिलाले पनि त्यसलाई तोड्न सक्नेछिन् । यसर्त महिलाको स्वतन्त्र हुने महत्वपूर्ण अधिकारको यहाँ रक्षा गरिएको छ । अहिलेको मानव अधिकारको भाषामा भन्ने हो भने महिलाको आत्म–निर्णयको अधिकारको सम्मान गरिएको छ ।


हामी नजिकका अन्य सामाजिक/धार्मिक समुदाय जस्तो कि हिन्दू र ईसाइ धर्ममा यस्तो व्यवस्था गरिएको छैन । हिन्दू धर्ममा एक चोटि विवाह गरिसकेपछि सात जन्मसम्म ती महिला उसैकि (उसको श्रीमानको) हुन्छे । ईशाइ धर्ममा पनि पवित्र–विवाहबन्धन (holy-matrimony) लाई चर्चले तोड्न सक्दैन वा तोड्ने अधिकार धर्ममा दिएको छैन । लिम्बू मुन्धुमले भने विवाहलाई तोड्न सकिने करारको रुपमा प्रस्तुत गरिएको छ र फेदाङमाले विवाहकै समयमा युप्पारुङ बाध्ने बेला बेहुला–बेहुलीलाई सबै इष्टमित्र र तुम्याहाङबीच स्पष्ट पारेका हुन्छन् । महिलाले आफ्नो श्रीमानको घरमा अपमानित भएको, छल भएको वा र्दुव्यवहार खेपेको खण्डमा सम्बन्ध विच्छेद (नाजोङ) गर्ने अधिकार राख्दछे । यो अधिकार युप्पारुङमा निहित हुन्छ ।


युप्पारुङले निधारमा हिर्काएर चोट पुर्र्याउँनु भन्ने कुरा सांकेतिक मात्र हो । त्यसले शारीरिक चोट त खासै पुर्र्याउँदैन तर सामाजिक चोट भने राम्रै पुर्र्याउँछ । युप्पारुङमा बाचा बन्धन गरिनुको ध्येय पनि यहि नै हो । महिला आफूले आफ्नो जन्म घर छाडेर इमान्दारिताका साथ श्रीमानको घरलाई आफ्नैमानि घरको सबै कामकाज गर्ने, घरका सबै सदस्य लगायत वस्तुभाऊको रेखदेख र स्याहार–सुसार गर्ने, खेत–बारी लगायत पूजापाठका काम समेत गर्ने जिम्मा लिएकी हुन्छे । यस्तो गर्दागर्दै पनि महिलालाई सम्मानसाथ उसको श्रीमानको घरमा राखिनए भन्ने सन्देश यसले दिन्छ । हाम्रो समुदायमा भनाई नै छ, “बरु बुढी मरेकोसंग जानु बुढीले छाडेकोसंग नजानु” अर्थात् विहे गर्नु नै पर्ने अवस्था आईपरे र भनेजस्तो केटा नपाए बुढी मरेकोसंग विहे गर्नु तर बुढीले छाडेकोसंग विहे नगर्नु । हुन त बुढीले छाडेका सबै पुरुष खराब हुदैनन् तर साधारणतया त्यस्तै हुन्छ भनेर नै यस्तो भनाई प्रचलित भएको हुनसक्छ । युप्पारुङले हानेर सम्बन्ध विच्छेद गर्नुले पुरुषको सामाजिक मर्यादामा आँच पु¥याउनु नै हो । यसर्थ महिलालाई यस खाले विशेष व्यवस्था लिम्बू प्रथाजनित कानूनले दिएको छ ।


विभिन्न जाति/समुदायले परम्परागत रुपमा मानआएको÷चलिआएको नीति, नियम र कानूनलाई प्रथाजनित कानून भनिन्छ । यो लिखित वा अलिखित दुवै रुपमा हुन सक्छन् । संसारमा धेरै देशहरु छन् जहाँ त्यहाँका विभिन्न जातजाति, समुदाय, आदिवासी, जनजातिहरुको प्रथाजनित कानूनलाई राज्यको कानून सरह मान्यदा दिइएको छ । उदाहरणको लागि भारत, मलेसिया, फिलिपिन्स, क्यानडा, अमेरीका, बोलिभिया लगायत थुप्रै अफ्रिकि मुलुहरुमा प्रथाजनित कानून राज्यको कानून सरह मान्यता पाएका छन् । नेपालमा भने राज्यको कानूनले युप्पारुङ जस्तो परम्परागत मान्यतालाई प्रथाजनित कानूनको मान्यता दिएको छैन वा भनौ यस्ता प्रथाजनित कानूनलाई नै राज्यले मान्यता दिएको छैन । नेपालले आदिवासी जनजाति सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (United Nations Declaration on the Rights of Indigenous Peoples) र अन्तर्राष्ट्रिय श्रम संगठनको आदिवासी जनजाति सम्बन्धी महासन्धी (International Labour Organization’s Convention on Indigenous and Tribal Peoples or ILO Convention no 169) अनुमोदन गरेसंगै आदिवासी जनजातिहरुको प्रथाजनित कानूनले राज्यको अन्य कानून सरह मान्यता पाउँनु पर्ने हो । तर घोषणापत्र र महासन्धी १६९ को कार्यान्वयन प्रभावकारी नभएको कारण यस्ता प्रथाजनित कानूको मान्यता भइ नसकेको अवस्था छ ।


युप्पारुङसंग गाँसिएको परम्परा धेरै पहिलेदेखि चलिआएको भएता पनि यो समसामयिक अवस्थामा पनि उत्तिकै व्यवहारीक छ । यो व्यवहारीक भएता पनि राज्यको कानूनको प्रभावले गर्दा लोप हुँदै जाने अवस्था छ । साथै यसको अर्थ नबुझेर यसको महत्व विवाह विधिमा चाहिने सामग्रीको रुपमा मात्र रहने अवस्था देखिन्छ । यसको महत्वलाई समयमै बुझेर यस्ता परम्परा र प्रथाजनित कानूनलाइृ मान्यता दिलाउन आवश्यक देखिन्छ ।

चिया गफ

चिया गफ भन्ने बित्तिकै हातमा चियाको कप वा गिलास लिएर समूहमा चिया पिउँदै बोलिरहेको वा सुनिरहेको चित्र आँखामा आउछ मलाई । म जस्ता चिया गफमा रमाउने मान्छेलाई पनि चिया गफको चित्रण यस्तै आउछ होला जस्तो लाग्छ । चिया गफ प्रायः सबैलाई मन पर्छ । चिया गफमा कुनै किसिमको धेरा हुँदैन, कुरा जता लगे पनि हुने, जे कुरा गरे पनि हुँने । चिया गफमा रमाउने मान्छेहरु घण्टौसम्म गफ गरेर बस्न सक्छन् । उनीहरुलाई समयको ख्याल नै हुँदैन वा भए पनि समय बितेको पत्तो हुँदैन । यो चिया गफको राम्रो र नराम्रो दुवै पक्ष हो भन्ने मलाई लाग्छ । समय हुँदा जति गफ गरेर बसे पनि भयो, समय नभए कुरा गर्दागर्दै बिचमै रोकिनु पर्यो तर त्यो रोकाईले चिया गफलाई फरक पार्दैन किनभने त्यसलाई बिट मार्ने पर्ने र निष्कर्षमा आउनै पर्ने बाध्यता हुँदैन । त्यसैले त्यो पानी जस्तो हुन्छ हुन्छ, जता बगायो त्यतै बग्ने, जस्तो भाँडोमा हाल्यो त्यस्तै हुने ।

Photo: A cup of tea by Sirjana

चिया गफमा गरिने कुराकानीको बिषय प्रायः रोचक नै हुन्छ । राजनीति, अर्थतन्त्र, समाज, धर्म, संंस्कृति, परम्परा देखि लिएर व्यक्तिगत समस्यासम्मका कुराहरु गर्न सकिन्छ । विषयको पाबन्दी चिया गफमा हुँदैन । एकछिन अधिसम्म विश्वअर्थतन्त्रको कुरा गरिरहेको व्यक्तिहरु एकछिन कुनै व्यक्तिको बिषयमा पनि चर्चा गरिरहेका हुन सक्छन् । त्यसैले गफ गर्ने व्यक्तिहरुको रुचिमा वा कुराको बगाइमा चिया गफ बगिरहन्छ । कहिले यता, कहिले उता । त्यसैले त नेपाली उखान छ नी, “कुला र कुरा जता बगाए पनि हुन्छ” । यहि कारणले होला चिया गफको मिठास भिन्नै भएको । चियाको मिठास भन्दा पनि मिठो लाग्ने गर्छ मलाई चिया गफ । चिया खाने भन्दा पनि कुरैकुरा मार्फत हामी आत्मियता साटिरहेको हुन्छौ । कुरैकुरामा हामी आफ्नो सुखदुःख पनि साटिरहेका हुन्छौ र कहिले समस्याहरुको समाधान पनि खोजिरहेका हुन्छौ । चिया गफले हामीलाई हल्का र प्रफुलित पनि बनाउने गर्छ । यसै क्रममा कहिलेकाहि रमाइलो, ठट्टा र जोक्सहरुपनि साटासाट गरिन्छ ।

चिया नेपाली समाजको अभिन्न अंग बनिसकेको छ । हरेक गल्लि र चोकचोकमा चिया पसल भेटिन्छ । चिया पसल राख्न नपाउने ठाँउमा थर्मसमा पनि चिया बेच्ने र किनेर खान पाइन्छ । चिया नेपालमा उत्पत्ति भएको पेय पदार्थ नभए पनि चिया अहिले नेपालको आफ्नो पेय पदार्थ भैसकेको छ । नेपालमा नै निया फलाउने र उत्पादन गर्ने काम भइरहेको छ । नेपाली चियाको स्वाद पनि आफ्नै किसिमको बनिसकेको छ । चिया, नेपाल र नेपालीको अभिन्न अंग बनिसकेको छ । नेपाली चियाले विश्व बजार र चिया पारखीहरु माझ आफ्नो छुट्टै पहिचान बनाइसकेको छ ।

नेपालमा चिया भित्रिने काम भारतमा अंग्रेजको शासन र अंग्रेजहरुले दार्जिलिड र सिलोडमा चिया बगान बनाएसंगै नेपालमा पनि त्यस बारे चासो बढेको जस्तो देखिन्छ । जंगबहादुर राणाको ज्वाई कर्नेल गजराज सिंह थापाले १८७३ तिर दार्जिलिडमा चिया बगान घुमेर आएपछि नेपालमा ईलाम र शोक्तिम चिया बगान स्थापना गराएको भनिन्छ (हेर्नुृहोस्) । चिया बगान बनाए पनि नेपालीहरुलाई चिया खुवाउन सजिलो थिएन होला र नेपालीहरुको चिया खाने र खुवाउने चलन पनि थिएन । अहिले हामीलाई चिया कसरी बनाउने र खाने भन्ने सजिलै थाहा पाए पनि त्यो बेला कसरी पकाउने र खाने भन्ने थाहा नहुँदा धेरैलाई अप्ठ्यारो परेको पनि हुनसक्छ । पहिलो पटक चिया पाकाएर खानेको कथाहरु अहिले रमाइलो जोक्स भएको छ । ती कथाहरु मैले चिया गफको दौरान सुनेको छु । त्यहि कथाहरु तपाईहरुलाई सुनाउँदैछु ।

पहिलोः श्रीमानले चियापत्ति ल्याएर श्रीमतीलाई चिया बनाउ भनेर दिएछन् । श्रीमतीले चियापत्ति भुटेर थालमा राखेर खानुस् भनेर अगाडि राखिदिइन् रे ।

दोस्रोः श्रीमानले चियापत्ति ल्याएर श्रीमतीलाई चिया बनाउ भनेर दिएछन् । श्रीमतीले चियापत्तिलाई गुन्द्रुकको झोल जस्तै बनाएर श्रीमानलाई लौ खानुस् भनेर दिइन् रे ।

तेस्रोः श्रीमानले चियापत्ति ल्याएर श्रीमतीलाई चिया बनाउ भनेर दिएछन् । श्रीमतीले बटुकोमा चियापत्तिको छोक्रा राखेर खानुस् भनेर दिइछन् र “झोल केटाकेटीहरुलाई खान दिए, छोक्रा चै तागतिलो होला भनेर तपाईलाई ल्याइदिएको छु” भनिन् रे ।  

कहिले नखाएको, नपकाएको खानेकुरा र नसुनेको खानेकुरा पहिलो पटक पकाउन नजान्दा कती श्रीमतीहरुले श्रीमनको गालि खाए होलान् उ बेला । आहिले हरेक नेपाली भन्सामा पाक्ने चिया कुनै बेला अत्यन्त अपरिचित थीयो । करीब ढेड सय बर्षको दौरान यो कसरी हाम्रो खानाको अभिन्न अंग बन्यो होला?

तपाईको कपालले के भन्दै छ?

कपाल भन्ने बित्तिकै हामी शौदर्यसंग जोड्ने गर्दछौ । महिला हुन् वा पुरुष, कपाल शौदर्यको अभिन्न अंग हो । तर कपाल सौदर्य मात्र नभएर यो पहिचानको एक महत्वपूर्ण अंग रहन्दै आएको छ ।हाम्रो समाजमा कपाल लामो महिलाको र कपाल छोटो पुरुष हुनुपर्छ भन्ने मान्यता छ । यदि कसैले यो मान्यतालाई मान्दैन भने त्यो व्यक्तिलाई भिन्दै नजरले हेरीन्छ । आफूलाई अरुभन्दा भिन्दै देखाउन कतिपय मानिसहरु कपाल काट्ने वा पाल्ने गर्छन् र कति सामाजिक मान्यतालाई चिर्नको लागि कपाल पाल्ने वा काट्ने गर्छन् । पुरुषहरुले कपाल काट्नुपर्छ भन्ने मान्यता हामीकहा” भए पनि साधु तथा जोगीहरुमा यो लागू हुन्दैन । कपाल पाल्नु र लट्टा पारेर राख्नु उनीहरुको पहिचान हो । त्यसको विपरीत भिक्षुणीहरु भने कपाल खौरिने गर्छन् । उनीहरुको लागि कपाल खौरनु भनेको सांसारिक तत्व वा सौदर्यबाट पर रहनु हो भन्ने अर्थ लाग्छ । यो नै उनीहरुको पहिचान भएको छ ।

sadhu.jpg
Photo: Sandeep Subba (http://www.pratibimba.com/)

महिलाको लागि लामो कपाल सौदर्य हो भनी यो समाज भन्छ भने पितृसत्तात्मक समाजमा महिलाको स्थिति उसको पुरुषसंग जोडिएको हुन्छ । हिन्दू समाजमा पहिले पहिले जब कुनै महिलाको लोग्नेको मृत्यु हुन्थ्यो, त्यसबेला महिलाको कपाल खौरिएर उसलाई विरुप बनाइने पनि गरिन्थ्यो । महिलाको सौदर्यको प्रतिक उसको कपाललाई खौरी उसको रुप र सौदर्य केवल उसको लोग्नेको लागि हो भन्ने अर्थ यसले दिन्छ । यसरी विधुवा महिलाको कपाल खौरी उसको लोग्नेको मृत्युसंगै उसको खस्केको स्थितिको बोध गराउन उसको कपाल खौरीन्थ्यो र अहिले पनि कतै कतै खौरिइन्छ । कपालसंग जोडिएको यो महिला दमनको यो एक उदाहरण हो । त्यसैगरी, नेपालमा पनि राणाकालमा कुनै कथित उच्च जातको पुरुषले गर्न नहुने काम गरेमा उसलाई सजाय स्वरुप अधापाटा कपाल काटेर चार भन्झ्याङ कटाइन्थ्यो ।

विश्वका अन्य क्षेत्रको कुरा गर्दा, प्रथम राष्ट्र वा फष्ट नेसन) भनी चनिने अमेरीकाका आदिवासीहरु जसलाई रेड इन्डियन भनी चिन्ने गर्दछौ । यूरोपीयनहरुले उनीहरुको सांस्कृतिक दमन गर्ने हतियारको रुपमा कपाललाई प्रयोग गरेका थिए । प्रथम राष्ट्रको संस्कृति अनुसार कपाल पाल्नु उनीहरुको पहिचान हो । तर जब यूरोपियनहरु अमेरीका पुगे र त्यहाँ पुगीसकेपछि उनीहरुलाई शोषण दमन गर्ने क्रममा उनीहरुले प्रथम राष्ट्रका पुरुषहरुको कपाल काटिदिने काम गरे । यस्तो कार्यले उनीहरुको समाजमा नराम्रो छाप पर्‍यो । कपाल काट्नु यूरोपियन पुरुषका लागि सभ्य र विकसित भन्ने बुझिन्थ्यो भने कपाल पाल्नु असभ्य र जंगलीको प्रतिक मानिन्थ्यो । तर प्रथम राष्ट्रको संस्कृतिमा कपाल पाल्नु र कपाललाई विभिन्न प्रकारका पंक्षिको प्वाख राखेर सजाउनु सभ्य र विकसित मानिन्थ्यो । तर त्यो संस्कृतिको अनादर गर्दै यूरोपियनहरुले उनीहरुको कपाल काटी सांस्कृतिक हत्या गरे । यो कपालसंग गाँसिएको सांस्कृतिक दमनको अर्को उदाहरण हो । 

कपाल काटेर दमन भएको थियो भने कपाल राखेरै पनि विश्वमा आन्दोलन भएको उदाहरण पनि छ । त्यो हो, रास्ताफेर्यन आन्दोलन । यो आन्दोलन धार्मिक आन्दोलन हो । यसलाई इथोपिय सम्राट हेली सलासीले प्रतिवादन गरेका हुन् । यो धार्मिक आन्दोलन भए पनि यस आन्दोलनले अफ्रिकी संस्कृतिको प्रतिवादन गर्छ र कपाल काट्नलाई मनाहि गर्छ । यस आन्दोलनमा लागेका मानिसहरु -विशेष गरी पुरुषहरु) कपाल पालेर त्यसलाई लट्टा पार्ने गर्छन् । उनीहरु रातो, पहेलो र हरियो धर्के टोपी तथा लुगाहरु लगाउने र अफ्रिकी शैलीका गीत गाउने गर्छन् । अफ्रिकी शैलीका गीतमा पनि विशेष गरी रेगी शैलीको गीत गाउने गर्छन् । यस संस्कृतिलाई अमेरीकि रेगी गायक बब मार्ली विश्वभरी चिनाउने काम गरे । उनले गीत संगीतको माध्यमबाट रास्ताफेर्यन आन्दोलनलाई बल पनि पुर्याए । अहिले यो एउटा भिन्नै आन्दोलनकारी संस्कृतिको रुपमा विकास भै रहेको छ ।

कपाल पलाउने झर्ने गर्छ र काटेपछि फेरी पलाई पनि हाल्छ तर पनि हरेक मानिस र उसको समुदायले बनाउने कपालले केहि सन्देश पनि दिइरहेको हुन्छ । कुनै समयमा कपाल खैरिएर सांस्कृतिक दमन हुने गर्दथ्यो भने त्यहि कपाललाई पालेर आन्दोलन पनि भएको छ । हामीकहँ अहिले पनि महिलाले कपाल पाल्नुपर्छ र पुरुषले काट्नु पर्छ भन्ने मान्यता व्याप्त छ । तर पनि महिलाहरुले कपाल काटेर र पुरुषले कपाल पालेर सामाजलाई चुनौति पनि दिन्दै आएका छन् । विस्तारै यस कुराले पनि पहिचान पाउदै गएको छ र मान्छेको त्यो नै आफ्नो पहिचान पनि बन्दै गइरहेको छ ।

अब भन्नुहोस् तपाईको कपालले के भनिरहेको छ त?