विकास र गरीबी

विकास र गरीबी एक सिक्काका दुई पाटाहरु हुन् भन्ने मलाई लाग्छ । जहाँ गरीबीको कुरा आउँछ, त्यहाँ विकासको कुरा आउँछ । वा भनौ जहाँ विकासको कुरा आउँछ, त्यहाँ गरीबीको कुरा नआइए छाड्दैन । विकास र गरीबीको सम्बन्ध अन्योन्याश्रित छ ।

विकासले गरीबी घटाउँछु भन्छ तर त्यही गरीबी विकासको बाधक भइदिन्छ । कोशिश गर्छ – एक तहको गरीबी घटाउँछ तर अर्को तहको त्यू का त्यू नै हुन्छ । बिभिन्न समयमा विभिन्न संघसंस्थामा रहेर विकासे काम गर्दा एउटा अनुभव यही भयो । गरीबी घटाउने भनेर काम त गरियो तर अत्यन्त गरीबसम्म पुग्न सकिएन वा भनौ पुगेर पनि काम गर्न सकिएन । तिनै अनुभवहरुको संगालो यहाँ राखेको छु ।

गरीब आदिवासी जनजाति समुदायका व्यक्तिहरुलाई शीपमूलक तालिम कार्यक्रम संचालन गर्ने कार्यक्रम अन्र्तगत मैले गरीब तथा माध्यमिक शिक्षा उतिर्ण नगरेका आदिवासी जनजातिहरु खोजेर नाम दिनुपर्ने थियो । यसै कुरालाई ध्यान दिएर विभिन्न समुदायका आदिवासी जनजाति समुदायका महिला तथा पुरुषहरुको खोजि गर्ने काम गरे । विभिन्न समुदायका महिला तथा पुरुषहरुको नाम संकलन गर्ने, उनीहरुसंग सम्पर्क गर्ने र उनीहरुलाई तालिम केन्द्रसम्म पु¥याउने काम गरे । यसै क्रममा घिमाल जति विकास केन्द्रको सहयोगमा काठमाण्डौंमा बसोबास गर्दै आएका घिमाल महिलाहरु खोजी पनि गरे । तालिम लिनको लागि उनीहरुलाई अन्र्तवार्तामा पनि आए । १ महिना स्वेटर बुन्ने तालिम थियो र तालिम पछि त्यही तालिम दिने संस्थाले उनीहरुलाई रोजगार दिने सुनिश्चित पनि गरिएको थियो तर उनीहरु तालिममा आउन सकेनन् । कुरा कहाँ बिग्र्रियो भनी खोजी गर्दा उनीहरु तालिममा आउन सक्ने स्थिति नै भएन । जारेपाटीको गलैचा बुनेर बसेका ती महिलाहरु तीन महिनासम्म आफ्नै खर्चमा तालिम लिन आउने जाने व्यवस्था थिएन । उनीहरुले गलैचा बुन्न छाडेर तालिममा आए कोठाभाडा, यातायात, खाना तथा परिवारको खर्च कस्ले बेहोर्ने भन्ने प्रश्न आयो । त्यो तालिम दिने संस्थाले व्योहोर्ने अवस्था थिएन । त्यसैले उनीहरुलाई शीप सिक, त्यो भन्दा राम्रो कमाइ गर भन्न सकिने अवस्था भएन । उनीहरुलाई त्यसै छाड्नु पर्नेभयो । त्यहि व्यचमा अर्को केटाहरुको समूह पनि थियो, उनीहरुको पनि त्यस्तै त्यस्तै समस्या आइप¥यो । उनीहरुलाई ३ महिना इलेक्ट्रिसियनको तालिम लिनुपर्ने थियो । तालिम दिने संस्थासंग कुरा गरेर उनीहरुलाई दिउसोको खाजा र यातायात खर्च सम्म दिने व्यवस्था मिलाए । तीन महिनासम्म उनीहरु आफ्नो साथी तथा इष्टमित्रका बसेर भएपनि तालिम लिए । थोरै सहयोग गर्दा ती पुरुषहरुले तालिम लिन सके तर महिलाहरुको हकमा त्यस्तो भएन ।

त्यस्तै कथा कुसुन्डा जातिको दुई जना पुरुषसंग जोडिएको छ । उनीहरुलाई उनीहरुको चाहना अनुरुप ड्राइभिङ शिक्षा दिइयो । ड्राइभिङ गर्न जान्ने त भए तर राम्रो लेखपढ गर्न नजान्ने भएकाले ड्राइभिङको परिक्षामा फेल भए । तर त्यो भन्दा पहिले उनीहरुको नागरीकताको प्रमाणपत्र नभएकोले धेरै दुःख पाए । नेपालमा यस्ता धेरै आदिवासी जनजातिहरु र गैर–आदिवासी जनजातिहरु पनि छन् जो नागरीकता नभएकाले समस्यामा छन् । शिक्षा नपाएका कारण झन् धेरै संख्यामा शिप र दक्षता हासिल गरी रोजगारीबाट बंचित भएका छन् । उनीहरुलाई शीप सिकाएर राम्रो रोजगार दिने योजना सफल भएन । उनीहरु दैनिक मजदुरी गर्न बाध्य भए ।

अर्को प्रसंग जोडौ, धनकुट्टाका आठ–पहरीयाहरुको । धनकुट्टा बजारसंगै जोडिएको नगरपालिका भित्र पर्ने गाउँ छ,  टेकुनाला । बिकास केहि नभएको तर बिकासका कार्यक्रम जति सबै त्यहि थुप्रिएको – कर्णालि जस्तै । उनीहरुको आर्थिक बिकास गर्नको लागि उन्नत जातको गोलभेडा खेती गर्न सिकाएको रहेछ त्यहाँको एउटा बचत समूहले । एकजना आठपहरिया महिलाले पनि महिला बचत समूहबाट उन्नत जातको गोलभेडा खेती गर्न ऋण लिएकि रहिछिन् । उन्नत जातको गोलभेडामा रोग लागेछ । रोगबाट बचाउनलाई थप ऋण लिनुपरेछ । ऋणमाथि ऋण थपिएपछि रुनु न हाँस्नु भएकी त्यस महिलाले “हुनेलाई त न्यानो नहुने त कामेको काम्यै” भनेको कहिल्यै बिर्सिदिन । धेरै कमाइ हुने आसमा ती महिला गरीबीबाट उक्सिनुको सट्टा झन ऋणमा ढुबिछन् । उनी जस्तै त्यहाँका अन्य महिलाहरु पनि गरीबीको चपेटामा परेर आफूले कपडा बुन्ने गरेको तान तथा पुराना भाडाकुडाहरु साहुलाई बेच्ने गरेको बताइन् । पहिले पहिले आफै कपडा बुनेर लगाउने गरेको, तान बेचेपछि कपडा बुन्ने ज्ञान हराउँदै गएको उनले बताइन् ।

मेरो आफ्नो अनुभवमा के लाग्छ भने गरिबी हटाउने हो भने बिकासका निम्ति खुलेका वा काम गर्ने संस्था र कार्यकर्ताले यस्ता असफलताका कथा सुन्नु पर्छ, सुनाउनु पर्छ र त्यसबाट पाठ सिक्नु पर्छ । विकास गर्नको लागि शिपमुलक तालिम दिनु पर्छ तर त्यो तालिम लिन आउन सक्ने वातावरण ती गरिबहरुलाई बनाइदिनु पर्छ । उनीहरुलाई तालिम दिन्दा उनीहरुको क्षमता के हो पनि बुझ्न सक्नुपर्छ । सबैले गरेको र फाइदा कमाएको भन्दैमा त्यहि काम उनीहरुलाई गर भन्नु पनि मिल्दैन । उनीहरुले के गरीरहेका छन्, त्यसैको स्तरउन्नोति तर्फ लैजाने कि या पहिले गर्दै नगरेको काम गराउने हो त्यो पनि ध्यान दिनपुपर्छ । त्यस’bout पनि सोच्नु आवश्यक छ । धेरै फल्ने, धेरै उत्पादन हुने भनेर उन्नत र विदेशी नश्लका पशुपंछि र हाइब्रिड बीउबीजनले सधै सकारात्मक परिणाम ल्याउछ भन्ने छैन । त्यस्ता कुराहरुको पनि हेक्का राख्नुपर्छ भन्ने मलाई लाग्छ । गरीबलाई माथि उठाउने नाममा गरीबलाई झन् गरीब बनाउने काम पो भएको छ कि भनी हेर्नु पनि आवश्यक छ ।

गरीबी हटाउने/घटाउने वा विकासका काम सुन्दा जति रोमान्टिक सुनिन्छ गर्न त्यत्तिकै गाह्रो छ । म जस्ता धेरैले यस क्षेत्रमा जागिर खाएका छन्, रोजगारी पाएका छन्, जिविकापार्जन गरेका छन् र आफ्नो आर्थिक अवस्था सुधारेका पनि छन् । तर जो गरीब छन्, जो निमुखा छन्, जो अनपढ छन्, उनीहरु मध्ये कतिलाई गरीबीको चक्रबाट निकाल्न सफल भएका छौ र कति असफल भएका छौ । त्यसको लेखाजोखा गरेर त्यसबाट धेरै कुरा सिक्न सक्छौ र सिकाउन सक्छौ । त्यस तर्फ पनि ध्यान दिनु पर्ने हुन्छ, यदि साँचै विकास चाहन्छौ भने । जागीर मात्र खाने हो भने गरीबी ज्यू का त्यू रहि नै रहने छ ।