कल्चरल सक् (Cultural Shock)

जब तपाई कुनै नयाँ ठाउँ वा नयाँ समुदायलाई भेट्नुहुन्छ, उनीहहरुको बारेमा थाहा पाउनुहुन्छ र उनीहरुको अनौठो बानी–व्यवहार र परम्परा थाहा पाउदा कल्चरल (cultural shock) अथवा सांस्कृति झट्का लाग्छ । उदाहरणको लागि कुनै अमेरीकि वा युरोपेलि मुलकबाट पहिलो पटक दक्षिण एसिया घुम्न आयो भने जताततै STD लेखेको देखेर तर्सन्छ किनभने उसको लागि यो शब्दले sexually transmitted disease अर्थात यौन सम्बन्धबाट सर्ने रोग भन्ने बुझ्छ न कि टेलिफोन सेवा । कल्चरल सक् लाग्छ भनेर कतिपय यात्रीहरु आफू जाने ठाउँ र समुदायको बारेमा जानु अघि नै जानकारी लिने पनि गर्छन् ।

कल्चरल सक् सधै नयाँ ठाउँ र नयाँ समुदाय भेट्दा मात्रै लाग्छ भन्ने छैन । कल्चरल सक् हाम्रै वरीपरी आफ्नै छरछिमेकमा पनि लाग्छ कहिलेकाहि । यसै सन्दर्भमा भारतका प्रख्यात समाजशास्त्री तथा मानवशास्त्रीले एम.एन. श्रीनिवासले यदि तिमिले ध्यान दियौ भने कल्चरल सक् आफ्नै घरपछाडि पनि लाग्न सक्छ भनेका छन् । यस्तै केहि अनुभव मेरो पनि छ ।

१. महिनावारी बार्ने चलन

भिन्न खाले समाजमा भिन्न खाले चलन हुन्छ नै । यो सबैलाई थाहा भएकै कुरा हो । हामी राई–लिम्बूहरुले पनि महिनावारीमा बार्ने चलन छ तर त्यो देवता र पितृ पूजा गर्ने सन्दर्भमा मात्र लागू भएको देखेकि छु । अन्य कुराहरुमा त्यति बार्ने चलन छैन । तर यस बारेमा धेरै बोल्ने चलन पनि छैन । घरमा महिनावारी भए घरका महिलाहरुलाई मात्र थाहा हुने गर्छ अरुलाई भनिन्दैन ।

स्कुलमा छदा एउटा साथीको घरमा खेल्न जाँदा साथीले उसको घरमा बस्ने एक पुरुषलाई ठूलो स्वारले “मलाई नछुने भएको छ, परबाट जानुस्” भनेको सुन्दा म छक्कै परेको थिए । आफ्नो घरमा गुपगुप गर्ने तर बाहुनको घरमा हल्ला गरेको देखेर अचम्मै लागेको थियो । पछि थाहा भयो विषेश गरी जनाई लगाएको पुरुषलाई महिनावारी भएकी केटी/महिलाले छुन नहुने रहेछ । केहि कथम छुइहाले त्यो पुरुष अपवित्र हुने रहेछ भने केटी/महिला पापको भागिदार हुने भन्ने मान्यता रहेछ । हिन्दू धर्म अनुसार महिनावारी हुने केटी/महिला त्यस बखत अपवित्र हुने रहेछ ।

महिनावारी भएका महिलाले महिनावारी नभएका मान्छेलाई छुदा अपवित्र हुन्छ भन्ने कुरा त बुझे । पछि कलेज पुगेपछि त्यस्तैगरी अर्को बाहुन साथीको घरमा पुग्दा साथी महिनावारी भएकी थिइन् । अनि उनको घरमा अनौटो कुरा देखे । त्यसले मलाई अर्को कल्चरल सक् दियो । कोठामा पस्दा भुईमा कुल्चदा नछोइने तर कार्पेट/गलैचा राखेको ठाउँमा छोयो भने अपवित्र हुने । अनि कोठामा पस्दा उसको बहिनीले कार्पेट उठाइदियो र उ भित्तभित्ताबाट भित्र पस्यो । भुईमा टेक्दा नछोइने (अपवित्र) नहुने तर त्यहि भुईमा राखेको कार्पेट टेक्दा छोइने? यो पछाडिको तर्क मैले अहिले सम्म बुझेको छैन ।

कलेजमा हुँदा नै हो साथीहरुकहाँ धेरै जाने–आउने गर्ने । कलेज हुँदाकै कुरा हो । म एक जना नेवार साथीको घरमा गएको थिए । उनले “महिनावारी हुँदा खुट्टै चल्दैन, घिस्रेर हिड्छु” भनेको सुन्दा म छक्कै परे । कुरा के रहेछ भने उनको घरमा सबै जना काममा जाने । विहान काममा जान अघि घरकाले खाना दिएर गएपछि उनीहरु घर आएपछि मात्र खान पाउने रहेछ उसले । भान्समा पस्न मनाही भएपछि उसले दिनभरी पानीको भरमा बस्नुपर्ने किनकि खानलाई आफूसंग पैसा नहुने । सानैमा आमाको काख गुमाएकी ती साथी फिस्टा जस्तौ थिइन् । दिनभरी भोकै बसेपछि पोषण नपुग्ने नै भयो अनि खुट्टा कसरी चलोस् । उसको त्यो कुरा सुनेर मलाई अहिलेसम्म नी आङ्ग सिरिङ्ग भएर आउछ ।

पश्चिम नेपालको छाउपडीको कुरा पढिन्छ–सुनिन्छ तर काठमाण्डौको छाउ प्रथा पनि कम रहेनछ भन्ने लाग्छ । यी घटनाहरु धेरै अगाडिका पनि होइनन् । अहिले पनि काठमाण्डौमा हिन्दूहरुको छोरीको विहे गर्दा महिनावारी हुँदा सुत्नको लागि छुट्टै ओड्ने–ओछ्याउने दिन्छन् । त्यस बेला पूजाआजा मात्र होइन चुल्हा–चौकाबाट वर्जित गरिन्छ । एक प्रकारले त छोरीचेलिले भान्साको कामबाट छुट्टी त पाउछिन् तर जुन व्यवहार गरिन्छ त्यो अन्तन्त दु:खलाग्दो देखिन्छ । अरुले दिदा मात्र खान पाइने, भान्साकोटाको ढोकानेर बसेर खानुपर्ने, सबैसंग बसेर खान नपाउने जस्ता प्रचलनले महिनावारीको समयलाई झन् दु:खदायी बनाइदिन्छ ।

२. विधुवा धर्म

विधुवाले, विशेष गरी हिन्दू समुदायमा, सेतो लुगा लगाउँछन् । त्यो कुरा सानै देखि थाहा थियो । तर अन्य कुराहरु के गर्नु हुन्छ वा हुँदैन भन्ने कुरा थाहा थिएन र अझै पनि राम्ररी थाहा छैन । कलेज पढ्ने समयमै साथीको घरमा हामी एक हुल साथीह भेट भएका थियौ । खाजा पकाएर खाउ भन्ने सल्लाह भयो । हामी सबै भान्सामा गयौ । चाउचाउ पकाउने तयारी भयो । म चुलेसी लिएर प्याज काट्न तयार भए । प्याज काट्नै लाग्दा साथीले (जसको घरमा हामी थियौ) मलाई रोक्यो र त्यो उसको ममिको चुलेसी हो नचलाउ भनिन् । मैले कुरा बुझिन तर चुलेसी चलाइन । उसले दिएको अर्को छुरीले प्याज काटे । मलाइ छक्क परेको देखेर अर्को साथीले विधुवाले लसुन–प्याज खादैनन्, त्यसैले नकाट्नु भनेको भनेर सम्झायो । मैले पनि बुझे झै गरे । तर “किन” भन्ने प्रश्न आइरहन्छ । पहिलो प्रश्न लसुन–प्याज जे काटेपनि धुएपछि सफा हुँदैन र? कसरी त्यो अपवित्र रहिरहन्छ ? अर्को प्रश्न लोग्नेको मृत्यु भएपछि स्वास्नीले मिठो–मसिनो किन खानु नहुने? विधवाले राम्रो लगाउनु मिठो खानु किन नहुने?

३. शुद्ध शाकाहारी खाना

मेरो दाईको धेरै साथीहरु तराईका शाहा छन् । एक पटक काम विशेषले विराटनगर पुग्दा एकजना दाईको साथी (जो शाहा नै हुन्) ले आफ्नो घरमा खाना खान बोलाउनु भयो । दाईकोमा गफगाफ गर्न हिसाबले चाडै नै उहाँकहाँ पुगे । दाईले मलाई खुवाउन भनेर मासु ल्याउनु भएको रहेछ । दाईसंग उनको भतिजहरु पनि बस्थे । दाई–भाउजू मांसहारी भए पनि उनको घरको अरु सदस्यहरु शाकाहारी थिए ।

हाम्रो घरमा शाकाहारी खाना बनाउनु परे मासु चलाएको डाडु–पन्यु र भाडावर्तन छुट्टै राखिन्छ – मिसाइन्दैन । त्यत्ति भए चोखो नितो भयो भन्ने मान्छौ । तर उहाँहरुको लागि त्यस्ते हुँदैन रहेछ । माछा–मासु पकाउने भाडाकुडा र चुल्हा समेत छुट्टै हुनपर्ने रहेछ । दाईको साथीको घरमा उहाँहरुले माछामासु पकाउनलाई छुट्टै (करीडरको एक कुनामा) ग्यास चुल्हा र भाडाकुडा राख्नु भएको रहेछ । मरमसला भने सधै प्रयोग गर्ने भान्साबाट लिनु भयो । त्यो मसला छोइन्छ कि भनेर एउटा भतिज मसला बोक्ने र अर्कोले ध्यानपूर्वक मसला भाउजूलाई दिने गथ्र्याे । अनि कहि झुकेर छोइन्छ कि भनी ती दुई केटाहरु खाना पाकुन्जेल रुङ्गेर बसे । उहाँहरुको घरमा माछामासु पकाएको चुल्हा र भाडाकुडा शाकाहारी खाना पकाइन्दैन । मांसहारी खाना पस्केको भाडाकुडा र थालहरु भान्सामा लान वर्जित हुने रहेछ । मासुले छुएको सबैकुरा अशुद्ध हुन्छ रे । यो तराईका धेरै जातिमा खासगरी झा, मिश्र र शाहाहरुले मान्ने रहेछन् । पहिलो पटक देख्दा र सुन्दा अचम्मै लागेको थियो । भाडाकुडामा र चुल्हा अशुद्ध हुने तर त्यो खाएको मान्छे चाहि किन अशुद्ध नहुने भन्ने प्रश्न पनि आयो । तर आफ्नो आफ्नो चलन र विश्वासको कुरा भनेर चुपचाप बसे ।

४. सोल्टी–सोल्टीनीको ठट्टा

अरुको चलन र विश्वास देखेर छक्क पर्नु त स्वभाविक हो तर कहिलेकाहि आफ्नै चलन देखे पनि कल्चरल सक्मा परिने रहेछ ।

सायद म १३–१४ वर्षको थिए होला । एक जना दिदीको विहेमा लोकन्दी (बेहुलीको साथी) जानु भनेर मलाई बोलाइयो । म पहिलो पटक लोकन्दी गएको त्यही हो । हामी ३–४ जना साना थियौ अनि अरु ठूला दिदीहरु, फूपूहरु , काकाहरु र काकीहरु थिए । बेहुलाको घरमा पुग्यौ । विहेको रीतहरु भए । राती सुत्ने बेलामा त काकाहरु सोल्टीनीहरुसंग घान नाच्न थाल्नुभयो, धान नाचिसकेपछि चिया पकाएर सोल्टिनीहरुले दिए काकाहरु गफिदै खानुभयो । उहाँहरु रातभरी जिस्किदै बस्नुभयो । वारीपारी बसेर उहाँहरु कुरागर्न थाल्नुभयो । काकाहरु सोल्टीनीहरुलाई ल्याईहाल्ने र सोल्टीनीहरु पनि आइहाल्ने जस्तो कुरा गर्ने । एकैछिनमा माया–पिरति बसेजस्तो कुरा गर्ने कस्तो होला भन्ने लाग्यो ।

म त उहाँहरुको चाला देखेर छक्कै परे अनि काकाहरुसंग रीस पनि उठ्यो । घरमा छोराछोरी भएका मान्छेहरु सोल्टीनीहरु देखेर उनीहरुलाई ल्याइहाल्ने कुरा गर्नुहुन्छ, कस्तो मान्छे होला भनेर । घरमा आएपछि सबैलाई यो कुरा सुनाए पछि । त्यस्तो हो, छाडि दे भन्नुभयो आमाले । पछि कुरा बुझ्दै जाँन्दा त लिम्बू समुदायमा सोल्टी–सोल्टीनीको सम्बन्ध नै ख्याल–ठट्टा गर्ने रहेछ । यस्ता विहेबटुलमा सोल्टी–सोल्टीनीहरु जिस्कने त साधारण प्रचलन नै रहेछ । १५–२० जना लोकन्दी जाँन्दा सबैलाई सुताउने ठाउँपनि त नहुने रहेछ । हामी ८–१० जना केटीहरु एउटा कोठामा सुतेका थियौ भने केटाहरुलाई सुत्ने ठाउँ नै थिएन अनि यस्तो अवस्थामा रात बिताउनलाई घान नाच्ने र जिस्कदै बस्ने एउटा उपाय रहेछ ।

आफूलाई परेका यी कल्चरल सक् अहिले साधारण लागेपनि त्यो बेलामा यस्तो पनि हुन्छ र? किन यस्तो गरेको होला? भन्ने लागको थियो । श्रीनिवासले भनेको कुरा एकदमै सही लाग्छ । आफ्नै घरपछाडि कल्चरल सक् पाउछौ ध्यान दिएर मात्र हेर्नुपर्छ भनेको कुरा सहि हो । हाम्रो छरछिमेकमा, विभिन्न जात/जातिमा, विभिन्न क्षेत्रमा यस्ता कयौ कल्चरल सक् दिने चलनहरु होलान् अझै हेर्न र भोग्न नै बाँकि छ ।

तपाईलाई मेरो कल्चरल सक्को कथा कस्तो लाग्यो ? कमेन्ट बक्समा कमेन्ट गरिदिनुहोला । तपाईको आफ्नो पनि कल्चरल सक्को कथा भए कमेन्ट बक्समा लेखेर सबैलाई सुनाउनु होला । धन्यवाद ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.