तेअङ्सि सिरिजङ्गाको शहादतको कथा

                                                        बैरागी काइँला
आरम्भ

विभिन्न समयमा, विभिन्न कारणले आफ्नो देश, भाषा-लिपि तथा धर्म-संस्कृतिका लागि जीवन उत्सर्ग गर्ने लिम्बूजातिका पाँच शहीदका नाम इतिहासकार ईमानसिंह चेम्जोङ -चेम्जोङ, किरात साहित्यको इतिहास, वि.स. २०१३ ः भूमिका) ले दिएका छन् । सिक्किमका पाँचौं राजा नाम्ग्याल फुन्छ्योग -१७३३-१७८०) का शासनकालमा पेमायोन्ची गुम्बाका ठाछाङ लामाहरूका षड्यन्त्रबाट पश्चिम सिक्किमको मार्ताममा मारिने तेअङ्सी सिरिजङ्गा लिम्बूजातिको आफ्नो जाति, भाषा, लिपि, साहित्य, धर्म र सस्कृतिको लागि  सन् १७४१ अर्थात वि.स. १७९८ लगभगमा शहिद हुने (चेम्जोङ, किरात साहित्यको संक्षिप्त इतिहास, वि.स. २०१३ ः १२, एच. आर. रिस्ले,  द गजेटिएर अफ सिक्किम ः ३७) लिम्बू इतिहासमा नै प्रथम व्यक्ति भए । यी महान् व्यक्ति सिङ्थेबे थरका लिम्बू हुन्, जसलाई श्रद्धापूर्वक् आज सिरिजङ्गा दोस्रो अर्थात् तेअङ्सी भनेको अवतारी सिरिजङ्गा मानिन्छ । 
लिम्बूजातिमा बौद्ध प्रभाव 

नेपालको इतिहासको मध्यकालिन समयको अन्त्यतिर पृथ्वीनारायण शाहले गोर्खा राज्यको विस्तार गर्ने क्रममा नेपाल खाल्डो जित्नभन्दा धेरै अघि सिक्किममा नाम्ग्याल वंशको शासन प्रारम्भ भएको थियो । उसबेला टिष्टा नदीपश्चिम र अरुन नदी पूर्वको भूभागमा लिम्बूजातिको आधिपत्य र शासन थियो । नाम्ग्याल वंशको प्रादुर्भावपछि लिम्बुवान देश अर्थात फेदाप तथा याङवारोक थुम वर्तमान पूर्वीय नेपालंमा बुद्धधर्मको प्रभाव पर्न थाल्यो । 

सिक्किमका दोस्रो राजा तेन्सोङ नाम्ग्याल(१६४४-१७००) ले लिम्बू राजा योयोहाङका छोरी राजकुमारी थुङ्वामुक्मालाई बिहे गरेका (हज्सन पर्ेपर्स, भो. ८४, पृ. २४०) थिए । त्यसपछि अझ लिम्बू र सिक्किमका भोटे(तिब्बती) तथा लाप्चेका बीच सम्बन्ध अत्यन्त सुमधुर र घनिष्ट हुन पुग्यो । परिणामतः लिम्बूहरूले “आफ्नो साहित्य, सभ्यता छाडी आधाजस्तो भोटे भै भोटे पढ्ने भए” (चेम्जोङ, ऐ. वि.स. २०१३ ः ११) । के भन्न सकिन्छ भने सिक्किमको राजपरिवारसँगको वैवाहिक सम्बन्धका कारण पनि उपल्लाो किरातको लिम्बुवान देशमा आफ्नै फेदाङ्मा, साम्बा, येबा र येमाजस्तो परम्परागत संरचना अनुसारको धर्म तथा मुन्धुमको पद्धति अनुसरण गर्ने लिम्बूजातिमा बुद्धधर्मको प्रभाव विस्तार हुन गयो । यसरी हुन पनि हिन्दू धर्मको विस्तार पूर्वमा नभएको त्यस बेला सिक्किमबाट हुँदै लिम्बूजातिको देशमा बुद्धधर्मको प्रवेश हुनु सहज थियो । केही वर्षपछि बुद्धधर्मको प्रचार गर्ने निहुँमा लिम्बू र लाप्चेहरूलाई दुःख दिन थालियो र धर्मपरिवर्तनका लागि क्रूरतापूर्वक अभियान चलाइयो । तर के देखिन्छ भने लाप्चेहरूले बुद्धधर्म अनुसरण गरे तापनि लिम्बूहरूले भने आफ्नो भाषा, मुन्धुम बचाउन धेरै हदसम्म सफल रहेका थिए । 

ठीक यसै समयमा, वर्तमान नेपालको सुदूर पूर्ूवको लिम्बुवानको ताप्लेजोङ जिल्लाको  सिनाम क्षेत्रको तेल्लोक गाउँमा युगान्तरकारी पुरुष सिरिजङ्गा दोस्रोको जन्म सन् १७०४(मङंसिर महिनाको पूर्णिमा तिथिका दिन) भएको थियो (चेम्जोङ, हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल, सन् १९६७, २००३) ।
याङरुपको दोर्जेलामा 

 लिम्बूजातिहरूमा बौद्धधर्मावलम्बीको लेख्यपरम्पराको प्रभुत्व क्रमसः फैलिंदै जाँदा आफ्नो परम्परा, भाषा, लिपि र संस्कृतिप्रति जागरुक सिरिजङ्गाले भाषा शिक्षा र दिक्षा आफ्नै जातीय लिपिमा लिपिबद्ध गर्न थालेकाले सिङ्थेबे थरका लिम्बू विद्वानलाई पनि लामा भनिन थालियो । यसको पुष्टि एच. एच. रिस्लेले ( रिस्ले, ऐ. १८९४, १९८९ ः ३७) तेअङ्सी सिरिजङ्गालाई  “याङरुपको दोर्जेलामा” भनेकाबाट पनि हुन्छ । तर त्यसै समयमा ब्रायन हुटन हज्सनले सङ्कलन गरेर पछि बेलायत पुर्याएको प्राचीन लिम्बू पाण्डुलिपिमा नै तेअङ्सी सिरिजङ्गाको हस्तलिखित हुनसक्ने पाण्डुलिपि, भो. ८६ को ठाउँठाउँमा “लामा कुलु पात्तुङ् लो “(लामा गुरु बोल्दैछु/भन्दैछु)” भन्ने लेखनले पनि यस कथनको पुष्टि गर्दछ । त्यसरी नै शास्त्र वा ग्रन्थ पल्टाएर वाचन र लेखन गर्न सक्ने तिब्बती लामाहरू मात्रै त्यताका मानिसहरूले सुनेजानेका उसबेला पढ्न र लेख्न सक्ने विद्वानलाई लामा भन्नु स्वाभाविक नै थियो । उसबेला किरात लिम्बू लिपि र मुन्धुम धर्म सिकाउने उनलाई विद्वान हुनाले पद्यसम्भवकै अवतार मानी दोर्जेलामा नामले आदरपूर्वक् (चेम्जोङ, किरात इतिहास, १९४८ः४३-४४) सम्बोधन पनि गरिन्थ्यो । 
हत्याको कारण र समय

किम्वदन्तीका अनुसार सिरिङ्गा दोस्रोले सन् १७३४ मा आठ चेलाहरूका साथ सिक्किममा प्रवेश गरेर आफ्नो  भाषा, लिपि, मुन्धुम र शिक्षाको गाउँगाउँ घुमी घुमी प्रचार गर्न थालेको कार्यलाई पेमायोन्ची गुम्बाका ठाछाङ लामाहरूले बौद्धधर्मको विरोध र राजद्रोह ठाने । उनको शिक्षा, मुन्धुम, भाषा-साहित्य र लिपिको प्रचारले  लिम्बूहरू एक हुने र बौद्धधर्मको प्रचारमा अवरोध र तिब्बती बौद्धधर्मको जगमा उभिएको तिब्बती भोटे शासन अस्थिर हुनसक्ने ठानेर त्रसित ठाछाङ लामाहरूले षडयन्त्र रच्न थालेको देखिन्छ । अन्ततः राजद्रोहको अभियोग लगाई सिरिजङ्गा दोस्रोलाई बिखालु वाणले हानी (चेम्जोङ, हिस्ट्रि एन्ड कल्चर अफ किरात पिपल, १९६७,२००३ ः १६७) हत्या गरियो । त्यसपछि छालाको धोक्रोमा हालेर मार्तामको कालेज(केरेङवा) खोला र रिसी खोलाको दोभानमा बगाइयो । एच्. एस्.रिस्ले (रिस्ले, पृ ः ३७) का अनुसार त उनलाई कुखुराको बिष्टा खुवाई खुवाईकन मारियो । त्यसको लगत्तै उनका सातजना चेलाहरूलाई पनि पक्रेर मारे । चेलामा एकजना पेघा थरका लिम्बूलाई भने जिउँदै छाला काढेर नुनचुक र खोर्सानी हाल्दै सात दिनसम्म शासना दिएर मारे । यसपछि लिम्बू भाषा लेखिने लिपि, भाषा र साहित्य पढ्नमा प्रतिबन्ध लगाएर चारैतिर सूचना  गरियो । सिक्किमको इतिहासअनुसार यो घटना लगभग सन् १७४१ ई.तिर घटित भएको थियो । 

सिरिजङ्गा दोस्रोले भाषा, लिपि र साहित्यका लागि आफ्नो प्राण आहुति दिएको लगभग ३२/३३ वर्षछिमात्र गोर्खाका राजा पृथ्वीनारायण शाहले ससाना राजा र रजौटाहरूलाई परास्त गरेर विशाल नेपाल निर्माण गर्ने क्रममा लिम्बुवानलाई पनि सन्धीमार्फत अन्तर्भुक्त गरेको (ई.१७७४) तथ्य इतिहाससिद्ध छ । 
हज्सन पाण्डुलिपि भित्रको अभिलेख

मौखिक आख्यानका रूपमा रहेको सिरिजङ्गा दोस्रोको जीवन-गाथा सबैभन्दा पहिले कसले लेख्यरूपमा  अभिलेख गरेका थियो – भनेर ठोकुवा गर्न गाह्रो छ । किरात लिम्बू लिपिको प्रचार-प्रसार गर्दै सिक्किममा पुगेका सिरिजङ्गा दोस्रोको मृत्यु लामाहरूको षड्यन्त्रबाट भोटे राजाको हुकुमले क्रूरतापूर्वक गरिएको हत्या’boutमा आजसम्म प्राप्त सबैभन्दा पुरानो र पहिलो अभिलेखका रूपमा पाइने हज्सन पाण्डुलिपिभित्र (भो.७३, पृ. १५५-१५६) लिपिबद्ध गरिएको संक्षिप्त आख्यान वा पुष्पिका-वाक्य नै हुन सक्दछ । यो संक्षिप्त आख्यानबाट सिरिजङ्गा दोस्रोको हत्या सिक्किमको पेमायोन्ची गुम्बाका ठाछाङ लामाहरूको षड्यन्त्रबाट भएको हो भन्ने प्रचलित कथाको पुष्टि हुन्छ । सिरिजङ्गा दोस्रोको हत्या (सन् १७४१) भएको समय पृथ्वीनारायण शाहले काठमाडौं विजय गर्नभन्दा २७/२८ वर्षजति पहिलेको समय हो । यो कथा हज्सनले सङ्कलन गराउँदा सिरिजङ्गा दोस्रोको हत्या भएको लगभग १०० वर्षमात्र नाघेको थियो ।

किरात लिम्बू लिपिमा कखरा लेखन-अभ्यास गरेकोजस्तो सुन्दर र परिपक्व हस्ताक्षरमा हज्सन पाण्डुलिपि (भो. ७३)काे पृ. १५५ को अन्त्यको दुइ हरफदेखि पृ. १५६ मा संकलित  सिरिजङ्गा दोस्रोको हत्याको ’boutमा सङ्कलित कथाको शाब्दिक अनुवाद तल प्रस्तुत छ । अस्पष्टता हटाउन अनुवादको बीचबीचमा कोष्ठकभित्र शब्दहरू यस लेखकबाट थप गरिएको छ । पढ्न कठिन भएका शब्दका पछि कोष्ठकभित्र प्रश्नचिह्न राखिएको छ । 
हज्सन पाण्डुलिपि, भों ७३, पृ. १५५ ः अन्त्यको दुइ हरफ

१. जय, लिम्बु राजा(जाति) ले शास्त्र लेख्छ है । उत्पत्ति हुन्छ । आँधी-बतास माथि ला-

२. मा मेरो गुरु सिरिजङ्गाले प्राप्त गरे है । बोट पाएपछि त पड्न पर्छ है । सपनामा त –  

                                 

हज्सन पाण्डुलिपि, भों ७३, पृ. १५६ ः ९ हरफ

३. फूलको पातमा मुन्धुम उत्पन्न भएको सपना पायो  है ।  बिम्झेर त सपनामा पाए ज –

४. – स्तै गरेर  लेख्नुपढ्नु थाल्यो है । नलेखी (र नपढी) सकेन है । भोटेराजाले यसो त्यता हेर्दा त

५. लिम्बु राजाहरूको शास्त्र प्रकाशमा आयो भने त भोटेराजाको शक्ति जान्छ भनेर लामाले पनि हो 

६. भन्दा त उसलाई मारे है । (छालाको धोक्रोमा हालेर बगाएर) मरेर गए पनि निस्कने (बिउँतिने) छु – भन्यो है, जय ..

७. लिम्बू राजाहरू हो ।  दिनरात भक्ति गर्नु है ।  (बिरुवा) माटोबाट माथि आउँछ है । पृथ्वी –

८. – को नाभि कुम्भकर्ण हिमाल हो, उनको देह महादेव ङेक्वाबा माङ (देव) माथि बास गर्दछन् (सिर्ज ……साङ् -) 

९. उभिएका छौ है । तिम्रोमाथि (बतासमाथि ?) लिम्बु शास्त्र छ है । लिम्बू राजाको गुरु त –

१०. महागुरु निङ्वाहाङ्मा हुन् है । जय लिम्बुहरूको सेवा छ है ।
माथिको १० हरफहरूमा पूर्णविराम चिहृनले छुट्टयाएका १५ भन्दा बढी वाक्यहरूमा वर्णन गरिएको छोटो कथाअनुसार लिम्बू लिपि, भाषा र साहित्य तथा मुन्धुम धर्मको प्रचारका कारण रिसाएका लामाहरूका सल्लाहले राजाले उनको हत्या गराउन आदेश दिएको प्रस्ट देखिन्छ । 
अन्त्यमा

हराएको लिपिलाई पुनर्जीवन दिएर लिम्बू ध्वनिअनुरुपको वर्णमाला निर्माण, लिपिलेखन र प्रचलन (साक्षरताको अभियान) मा ल्याउनेजस्तो महान् कार्य सिरिजङ्गा दोस्रोका देन हुन् । उनले पहिचान गरेको लिम्बू वर्णव्यवस्था आजका भाषावैज्ञानिक अध्ययनको अत्यन्त नजिक देखिन्छ । यो नै लिम्बू भाषाभाषीका लागि उनको अमर देन हो । त्यसरी नै उनको अर्को देन आफ्ना उपदेशद्वारा धर्मलाई नैतिक शिक्षा र आचार शास्त्रका आधारमा लोकमा पुर्याउनु हो । अझ उनको अत्यन्त महत्वपूर्ण योगदान भनेको उत्तरबट झरेको बौद्धधर्म र दक्षिणतर्फाट उकालो चढेको हिन्दूधर्मको अतिक्रमणबाट स्वधर्म, स्वभाषा र लिपि तथा संस्कारहरूको संरक्षणका लागि जीवन बलिदान गर्नु नै हो । त्यसैले सिरिजङ्गा दोस्रोलाई लिम्बूजातिले शहिद मान्दछन् ।
सन्दर्भसूची

चेम्जोङ, इमानसिंह, -१९६७,२००३)   हिस्ट्री एन्ड कल्चर अफ किरात पिपल, पार्ट १-२, किरात याक्थुङ चुम्लुङ, ललितपुर, पृ.   ।

-१९७४, २००३), किरातकालिन विजयपुरको संक्षिप्त इतिहास, किरात याक्थुङ चुम्लुङ, ललितपुर, पृ.   ।  ३०-३२, ३६, ३७ 

 -१९४८, २००३),किरात इतिहास, किरात याक्थुङ चुम्लुङ, ललितपुर, पृ.   ।

 -१९५६, २००३),किरात साहित्यको इतिहास, किरात याक्थुङ चुम्लुङ, ललितपुर, पृ.   ।
रिस्ले, एच.एच.    १८९४, १९८९, द गजेटिएर अफ सिक्किम, पृ. ३७ ।

हज्सन, बी. एच.,  -१८४६-१९५८) हज्सन पाण्डुलिपि, भो.७३, पृ. १५५-१५६, ब्रिीटस लाइब्रेरी, लन्दन ।

गोरखापत्र, वर्ष१०७, अङ्क ३४९, २०६४, बैसाख १४ गते, शनिवार, पृष्ट-घ मा प्रकाशित ।

Advertisements

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / बदल्नुहोस )

Twitter picture

You are commenting using your Twitter account. Log Out / बदल्नुहोस )

Facebook photo

You are commenting using your Facebook account. Log Out / बदल्नुहोस )

Google+ photo

You are commenting using your Google+ account. Log Out / बदल्नुहोस )