तागेरा निङ्वा?फु माङ

तागेरा निङ्वा?फु माङ

A Limbu couple worshipping gods and goddesses (photo: unknown)
A Limbu couple worshipping gods and goddesses (photo: unknown)

लिम्बू भाषामा सृष्टिकर्ता ईश्वरलाई ब्रह्माण्ड र चराचर जगतको सृष्टि गरेकाले ईश्वरलाई मुजो:क्लुङ(मु–चोःक्–लुङ्) माङ खेजो:क्लुङ(खे–चोःक्–लुङ्)माङ भनिन्छ । यिनै मुजो:क्लुङ खेजो:क्लुङ माङ ‍‍भनेको तागेरा निङ्वा?फु माङ हुन् ।

तागेरा र निङ्वा?फु माङ परम सत्ता हो तर निर्गुण(मेन्निमाङ) र निराकार(मेन्धामाङ) हुनाले इन्द्रियातीत हुन्छ । निर्गुण(मेन्निमाङ) र निराकार(मेन्धामाङ) अर्थात् तागेरानिङ्वा?फु माङलाई यसभित्रका दुइ समस्तपदका सहयोगले व्याख्या गर्ने प्रयत्न तल गरिन्छ ।

लिम्बू भाषामा माङको गुण बताउने ती दुइ शब्द वा समस्तपद हुन् (१) तागेरा र (२) निङ्वा?फु । जस्तै – (३) तागेरा माङ् भन्दा माङको गुण तागेरा समस्तपदले बताउँछ तथा (४) निङ्वा?फु माङ भन्दा निङ्वा?फु समस्तपदले माङ्को गुण बताउँछ । त्यसैले तागेरा र निङ्वा?फु यी दुइ समस्त पदले माङ्को विशेषता बताउँछ र विशेषणको काम गर्दछ । क्रमस: यी दुइ शब्द वा समस्तपदमा विचारविमर्ष गरौँ । पहिले तागेरा समस्तपद वा शब्दमा विचारविमर्ष गरौँ ।
(क) तागेरा
तागेरा शब्द दुइ क्रियापद ताःमा(ताः-मा) र केप्मा( केर्/केत् – मा) को समास प्रक्रीयाबाट बनेको त्रिआक्षरिक समस्तपद हो ।
लिम्बू भाषामा “आउनु” अर्थ बुझाउने चार क्रियापदहरू छन् । ती हुन् – (१) युः – मा( माथिबाट तल आउनु, (२) थाःङ् – मा(तलबाट माथि आउनु) र (३) फेर्/ फेन् – मा( वर वा परबाट आउनु) तथा (४) ताः-मा (जताबाट पनि आउनु)
पहिलो तीन लिम्बू क्रिया(युः-मा, थाःङ् -मा, र फेर्/ फेन् – मा) ले दिशाको सङ्केत दिने हुँदा दिशाबोधक( directional verb) क्रिया भनिन्छ । तर चौथो क्रिया ताः-मा भने आउनु मात्र तर कताबाट आउनु ? आउने निश्चित दिशा नबुझाउँने क्रियापद हो । त्यसैले यो दिशाबोध नगर्ने क्रिया(non- directional verb) हो ।
यसरी हामी लिम्बू भाषामा आउनु कार्य बुझाउने दिशाबोधक र दिशाबोध नगराउने गरेर दुइखाले क्रिया पाउँछौँ ।
(क)दिशाबोधक( directional verb) क्रिया
(५). थाःङ् – मा ( माथि वा उत्तर आउँछ, वक्ताको सतहभन्दा मुनिबाट)
(५). युः – मा ( तल वा दक्षिण आउँछ, वक्ताको सतहभन्दा माथिबाट)
(७). फेन्- मा( यता आउँछ – समान सतहबाट)
निम्न वाक्यहरू हेरौँ – –
(८) योनु फेन्
(९) थोनु फेन्
(१०) नानु थाःङ्
(११) कत्नानु यु
(१२) योनु कत्थो यु
(१३) थोनु क,यो थाःङ्
माथि दिइएका (८) देखि (१३) सम्मका सबै उदाहरण लिम्बू बोलाईमा पाइँदैनन् । यी सबै अशुध्द मानिन्छन् ।
(१४) (कत्थो) थाःङ् : तलबाट माथि वा उत्तर दिशामा आउँछ
(१५) (क,यो) यु : माथिबाट तल वा दक्षिण दिशामा आउँछ
(१६) (क,ना) फेन् : वरपर वा पूर्व अथवा पश्चिम दिशाबाट मात्र आउँछ
माथि दिइएका (१४) देखि (१६) सम्मका सबै उदाहरण लिम्बू बोलाईमा पाइन्छन् । यी सबै शुध्द मानिन्छन् ।

थाःङ् मात्रभने पनि माथि आउँछ भन्ने अर्थबोध गर्दछ जसरी युः मात्र भने पनि तल आउँछ भन्ने बुझिन्छ । त्यसरी नै फेन् भन्दा वक्ताको सतहमा वरपर, दायाँबायाँ, अघिपछिबाट आउँछ भन्ने बुझिन्छ । तर जोड दिनका लागि जस्तै कत्थो (यतामाथि), क,यो(यता तल), क,ना(यता वर) जस्ता क्रियाविशेषण जोडिन्छन् । यी तीनै दिशाबोधक क्रियाले अर्थात् (क) थाःङ्-माले वक्ताको सतहभन्दा तलबाट माथि वा उत्तर दिशामा आउनु मात्र बुझाउँछ । त्यस्तै (ख) युः-मा ले वक्ताको सतहभन्दा माथिबाट तल वा दक्षिण दिशामा आउनु मात्र बुझाउँछ । त्यस्तै नै (ग) फेर्/ फेन् – ले वक्ताको समान सतहबाट भनेको वरपर वा पूर्व अथवा पश्चिम दिशाबाट मात्र आउनु बुझाउँछ । माथिबाट वा तलबाट आउनु बुझाउँदैन ।
(ख) दिशाबोध नगर्ने क्रिया (non- directional verb)
ताः-मा – क्रियाको शाब्दिक अर्थ आउनु हो । तर कताबाट? यस क्रियापदले निश्चित दिशा बुझाउँदैन ।
बरु ताः-मा – क्रियापदले जताबाट पनि आउनु भन्ने अर्थ दिन्छ । कुनै एक निश्चित दिशाबाट आउने, अरु दिशाबाट आउन नसक्ने भनेर यसले बुझाउँदैन ।
जताबाट पनि आएर वा गएर पुग्यो भन्ने अर्थ दिने तागेरा समस्तपद जुन ताः-मा (जताबाट पनि आउनु) र केप्मा (पुग्नु, आएर वा गएर) क्रियापदहरू मिलेर बनेको संयुक्त क्रियापद (compound verb) हो भन्न पनि सकिन्छ (?) ।

ताः-मा क्रियापद तथा केर् /केत्-मा क्रियापदका धातु ता/आउ) र केत्/केर् (पुग् ) मिलेर बनेको छ यो समस्तपद तागेरा जसले ताः-मा जताबाट पनि आइपुग्ने भन्ने अर्थ दिन्छ । पुग्नु आएर पनि पुगिन्छ अनि गएर पनि पुगिन्छ । जताबाट पनि (पहिले नै) आइपुगेको हुन्छ वा विद्यमान हुन्छ ईश्वर त । आउँछ भनेमा त अहिले यहाँ नभएको अर्थ दिन्छ । अहिले यहाँ वा त्यहाँ वा कहीँ पनि नभएको त कसरी सर्वव्यापी हुनसक्छ त ? त्यसैले दुवै क्रियाका धातुहरू मिलेर तागेरा बनिएको देखिन्छ ।
(१७) आन्देन् थासिङ्बा, हिम्मो केर्– बि हो ?
(१८) खा आल्लोरक् हिम्मो केर्–आङ् (केराङ्) लो ।।
माथिको पहिलो वाक्यले गएर पुगेको कर्म वा कार्य बुझाउँछ भने दोस्रो वाक्यले आएर पुगेको कर्म वा कार्य बुझाउँछ ।

माथिबाट तल मात्र आउन सकेको भए युगेरा माङ, तलबाट माथि मात्र आउन सकेको भए थाःङ्गेरा माङ र वरबाट परबाट मात्र आउन सकेको फेगेरा माङ् भनिन्थ्यो ईश्वरलाई । तर सर्वशक्तिमान र सर्वव्यापी हुनाले जताबाट पनि गई पुग्ने वा आई पुग्ने हुनाले माङलाई तागेरा माङ भनिन्छ ।
लिम्बू सोचअनुसार ईश्वर जहीँ पनि उपस्थित वा अवस्थित छ । ब्रह्माण्ड, पृथ्वी, स्थावर, ज‌ङ्गम, जलचर र थलचर सबैमा व्याप्त छ− हुनाले जताबाट पनि आउन सकेको भएकाले सर्वव्यापी भनिएको पनि हो ।
(ख) निङ्वा?फु
अब निङ्वा?फु समस्त पदको कुरा गरौँ । यो समस्तपद दुइ संज्ञापद वा शब्दहरू निङ्वा? तथा फु मिलेर समासको प्रक्रियाबाट निर्माण भएको त्रिआक्षरिक समस्तपद वा शब्द हो ।
( ख १) निङ्वा? शब्द दुइआक्षरिक र बहुआर्थी शब्द हो । निङ्वा? शब्दको एकभन्दा धेर अर्थ पाइन्छन्, जस्तै ः
(१९) कुनिङ्वा? तुक्
(२०) कुनिङ्वा? मेद्यानेन्
(२१) कुनिङ्वा? तुम्सा
(२२) कुनिङ्वा?‌ओ मेयाक्नेन्
(२३) कुनिङ्वा? वा
(२४) केनिङ्वा? ओ कत्तो ।
(२५) निङ्वा? नुरिक् चोगुआङ्लक् पाःत्तु
यी वाक्यबाट हामी निङ्वा? को अर्थ मन, चित्त, बुध्दि, विवेक, ज्ञान, इच्छा, सम्झना, विचार इत्यादि बुझ्छौँ। तर मूलतः चेतना, चैतन्य अथवा ज्ञान नै हो भनेर अर्थ्याउन सकिन्छ ।
( ख २) फु शब्दको अर्थ सरल छ – भन्डार, कोष, ढिकुटी, खानी । जमिनमाथिको खानी भन्डार वा ढिकुटी हो भने जमिनमुनिको भन्डार वा ढिकुटी खानी हो ।
(२६) तक्फु(तक्-फु) “अन्नको ढिकुटी वा भन्डार”
(२७) याङ्फु(याङ्-फु) “पैसाको ढिकुटी वा भन्डार”
(२८) फेन्जेरे कुभु “फलामको खानी”
त्यसैले निङ्वा?फुको शाब्दिक अर्थ “बुध्दि, विवेकको खानी अर्थात् ज्ञानको खानी वा चैतन्य” भन्ने नै हुनजान्छ ।

ईश्वर अथवा भगवान भनेका ज्ञानको खानी/भन्डार हो । ज्ञान भनेकै ईश्वर हो । ज्ञान सर्वत्र छ, कुनै एक ठाउँविशेषमा सीमित हुँदैन । सर्वत्र पाइने हुनाले सर्वव्यापक छ । सर्वव्यापक हुनाले नै ज्ञान भनेको ईश्वर हो । ज्ञानले नदेखेको र नजानेको केही र कोही नहुने हुँदा सर्वज्ञ पनि भनिन्छ । ज्ञानलाई कुनै दिशाले छेक्न सक्तैन नै । जुनै दिशाबाट गएर होस् वा आएर होस् पुग्नसक्ने शक्ति भएको सत्ता नै ईश्वर हो । ईश्वर भनेको नै ज्ञान हो ।

त्यसैकारण जताबाट पनि आइपुग्ने हुनाले ईश्वरलाई तागेरा माङ(सर्वव्यापी) र निङ्वा?फु माङ (ज्ञानको खानी) भन्दछौँ । जहीँ पनि उपस्थित वा अवस्थित भएर रहेका ईश्वरलाई लिम्बू मुन्धुमअनुसार त्यसैले सर्वव्यापक वा सर्वव्यापी ठानिन्छ । जहीतहीँ व्याप्त हुनाले सार्वभौम‚ सर्वव्यापी र खण्डित गर्न नसकिने हुँदा अखण्ड र सर्वशक्तिमान ठानिन्छ ।

हाम्रो भाषामा कत्रो शक्ति रहेछ यी दुइ शब्दका विश्लेषणबाट बुझिन्छ । त्यसैले वैदिक वाङ्मयमा शब्दब्रह्म भनिएको छ । त्यसरी नै बाइबलमा “There was word and the Word was God” भनिएको हो । हामीभित्र नै छ अथाह ज्ञानको भन्डार अथवा खानी । त्यसैले ईश्वर पनि हामी भित्र नै छ । खोजी निकाल्ने काम विद्वत् जन, साम्बा, येबा येमा, साधक र योगीजनका प्रयत्नमाथि निर्भर गर्दछ ।

Note: I copied this article from facebook post of Mr. Til Bikram Nembang “Bairagi Kainla”.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )