लिम्बू जातिमा सैमुन्द्री रीतको सामाजिक र प्रथागत न्यायिक महत्व

हज्सन पाण्डुलिपि, भो. ७४, पृ. ९ (ख) पाताको दाहिनेतर्फ नेपाली अनुवाद छ ः
१. सैमुंद्रि लायाको स्वास्नि अरु सोत बाकि भया पनि छोराछोरि षोसा
२.  सैमुन्द्रि नलायाकोमा । छोराछोरि षोसा हुंछन् ।
३. अरु सोत -सये लाया पनि सैमुन्द्रि रुपैया द्वि । नलाया त षोसा छोराछोरि हुन्छन् –

लिम्बू जातिमा सैमुन्द्री रीतको सामाजिक र प्रथागत न्यायिक महत्व
– बैरागी काइँला

उठान
संसारका सबै जातिमा आआफ्ना रीतिथिति परम्परागत रूपमा पालन गरिदैं ल्याइएका हुन्छन् । जातिविशेषले शदियौंदेखि पालन गरिल्याएका यस्ता रीत र प्रचलनहरूको नैतिक र सामाजिक मूल्य र मान्यता हुन्छ । यिनलाई सामाजिक दस्तावेजका रूपमा मानिन्छ र त्यसैले यिनको त्यो जाति र समाजमा एकप्रकारले कानुनी हैसियत पनि हुन्छ ।
परम्परादेखि चलिआएका कानुनी हैसियत पाएका चलनलाई प्रथागत कानुन (customary law) भनिन्छ । यो आलेखमा लिम्बूजातिभित्र भएको चलिआएका कानुनी हैसियत राख्ने चलनमा सैमुन्द्री रीतका बारेमा लाग्ने दस्तुर (रकम कलम)को समेत उल्लेख गर्दै चर्चा गर्ने काम भएको छ । यसका साथै हाडनाताभित्र अनैतिक सम्बन्ध राखेर बिहे गर्ने व्यभिचारीका हकमा लिम्बू जातिमा प्रचलित रीतिथिति, दण्ड, जरिवाना र सजायमा लाग्ने दस्तुर र रकम कलमको पनि चर्चा प्रसंगवश गरिएको छ । यो अध्ययन आज प्रचलित रीतभातमा भन्दा आजभन्दा १७० वर्षअघि अभिलिखित हज्सन पाण्डुलिपिमा भएको टिपोटका अनुसार गरिएको छ । यो पुरानो पाण्डुलिपिमा वणिर्त विवरणबाट के बुझिन्छ भने गोर्खाली राजा पृथ्वी नारायण शाहले स्थापित गरेको नेपाल राज्यमा अन्तर्भुक्त भएपछिका दिनमा तिनमा हिन्दु संस्कृति र चलनले तथा राणाहरूको उदयपछि जङ्गबहादुर राणाले निर्माण गराएको मुलुकी ऐनको पनि प्रशस्त प्रभाव गरिसकेको छ । तर उतिबेला पालन गरिने भनेका यी रीतभातहरू हिजोआज उस्तै रूपमा र उस्तै कठोरताका हिसाबले प्रचलनमा भने छैनन् ।
बिशेष रुपमा सैमुन्द्री रीतको कुरा गर्दा लिम्बू प्रचलित लिम्बू प्रथागत कानुनको पनि चर्चा गरिएको छ । यसो गर्दा मैले हज्सन पाण्डुलिपि, भो. ७४ को यो खण्ड जुलाई २६, २००४ का दिनमा ब्रिटिस लाइब्रेरी, लन्दनमा हातले सरौट गरेको प्रतिलिपि तथा सन् १९६१ मा ईमानसिंह चेम्जोङले इन्डिया अफिस लाइब्रेरी (हालको ब्रिटिस लाइब्रेरी) का लागि हज्सन पाण्डुलिपि, भो. ७४ को अनुवादलाई मुख्य आधार बनाएको छु ।

Mekkhing Khama (wedding ritual)
Mekkhing Khama (wedding ritual)

हज्सन पाण्डुलिपि
इन्डिया अफिस लाइब्रेरी भनेको हालको ब्रिटिस लाइब्रेरीमा सुरक्षित र सङ्गृहित हज्सन पाण्डुलिपि भो. ८५(पृ. ६०-६३) तथा भो. ७४ ( पृ. ८-१० र १९) मा लिम्बूजातिको बिहेमा सोतरीतबापत लाग्ने नगद दस्तुरको वर्णन गर्दा सैमुन्द्री रीतकाबारेमा लामै चर्चा छ । यस आलेखमा त्यसबेलाको लिम्बूजातिको बिहेमा लाग्ने अन्य दस्तुरका बारेमा उल्लेख मात्र गरेर भो. ८५(पृ. ६०-६३) तथा ७४ (पृ. ८-१० र १९) मा वर्णित सैमुन्द्री रीतको लिम्बू जातिमा सामाजिक र सांस्कृतिक महत्व तथा तिनको वैधानिक वा कानुनी हैसियतमाथि मात्र केन्द्रित गरिएको छ ।

Photo: Brian Houghton Hodgson (source: wikipedia)
Photo: Brian Houghton Hodgson (source: wikipedia)

हज्सन पाण्डुलिपि भो. ८५ मा लिम्बूजातिको बिहेमा लाग्ने रीतमा नगद दस्तुर वा सोतरीतको विशद् वर्णन भित्र सैमुन्द्री रीतकाबारेमा लामै चर्चा छ । आजका दिनमा पनि लिम्बू बिहेमा धेरै किसिमका दस्तुर वा सोत रीत कन्यापक्षलाई बुझाउनु पर्दछ । तर लिम्बूजातिमा मागी बिहे गर्दा होस्, वैवाहिक सम्बन्ध भङ्ग हुँदा होस्, सैमुन्द्री रीत सम्पूर्ण बुझाएको छैन भने विवाहको र जन्मेका सन्तानको हैसियतका बारेमा वैधानिकताको प्रश्न उठ्न सक्तछ । त्यसैले बिहे गरेपछि सैमुन्द्री दस्तुर आधुनिक कालमा पनि ढिलोचाँडो बुझाउने चलन जीवित नै छ । यसले के देखाउँछ भने लिम्बूजातिको बिहेसम्बन्धी दस्तुरमा सैमुन्द्री रीतको सामाजिक र सांस्कृतिक महत्व त छ नै यसको परम्परागत कानुनी हैसियत पनि ठूलो हुन्छ ।
हज्सन पाण्डुलिपि भो. ८५-पृ.६०-६३) मा सैमुन्द्री रीतका बारे लामो उल्लेख छ भने भो. ७४( पृ. ८-१० र १९) मा बिहेमा लाग्नेसोत सोतरीतको वर्णन गर्दा सैमुन्द्री रीतकाबारेमा विशद् चर्चा छ ।

यो आलेख भने बिहेमा लाग्ने अन्य दस्तुरका बारेमा नभएर भो.८५(पृ.६०-६३) तथा भो. ७४(पृ. ८-१० र १९) मा वर्णित सैमुन्द्री रीतको लिम्बूजातिमा सामाजिक महत्व र वैधानिक हैसियतमाथि मात्र केन्द्रित गरिएको छ ।

सैमुन्द्री शब्द र अर्थ
नेपाली झैँ सुनिने सैमुन्द्री लिम्बू भाषाको शब्द हो । यसको लोकव्युत्पत्ति यस्तो हुनसक्छ ः सैमुन्द्री साइ+मुन्+तेरे (साइ मुन्देआङ् ते.रे) ः सैमुन्द्री । साइ मुन्देआङ् ते.रेको अपभ्रंश भएर बनेको शब्द हो भन्न सकिन्छ । वंशबाट छुट्याएर लैजाऊ अर्थात् बिहेदान गरेको छोरीचेलीलाई माइतीको वंशबाट कुटुम्बको वंशमा मिलाएर लैजाऊ भनेको हो । जन्म पाएको कुलवंशबाट अर्को बिहे भएर गएको पतिको कुलमा मिल्यो भनेको हो यो दस्तुर बुझेपछि ।

सैमुन्द्री नबुझाएमा हुने अवस्ता र दण्डकुण्ड वा जरिवाना
सैमुन्द्री रीत नबुझाउने दम्पतिका जन्मेका औरस सन्तान पनि बतासे खोसा (बतासे सन्तान, अवैधानिक) हुन्छन् । उहिले तिनले निकै कानुनी अवरोध बेहोर्नु पर्दथ्यो ।
बतासे सन्तान र सैमुन्द्री दस्तुर
माथि उल्लेख भएकै छ कि लिम्बूजातिमा मागी बिहे गर्दा होस्, वैवाहिक सम्बन्ध भङ्ग हुँदा होस्, सैमुन्द्री रीत बुझाउनै पर्दछ । अकों शब्दमा भन्दा सबै रीत बुझाए पनि सैमुन्द्री रीत बुझाएको छैन भने बिहेले वैधानिकता पाउँदैन । तिनका जन्मने सन्तान खोसा (बतासे सन्तान, अवैधानिक) हुन्छन् । त्यसपछि बतासेबाट वैधानिक सन्तान बनाउनका लागि भने निकै दस्तुर बुझाउनु पर्दथ्यो उहिले ।
सैमुन्द्री दस्तुर र जारीसम्बन्धमा
हज्सन पाण्डुलिपि(भो. ७४ को पृ. ८, ९, १० र १९) अनुसार सैमुन्द्री दस्तुर नबुझाएको भएमा बिहे गरेकी पत्नी पोइल गई भने जारी उठाउन वा जार काट्न पनि पाइँदैनथ्यो । तर सैमुन्द्री दस्तुर बुझाएको पतिले भने जारी उठाउन अथवा जार काट्न पाउँथ्यो ।

सैमुन्द्री दस्तुर क्वाजानी
सबै दस्तुर बुझाएर गरेको बिहेपछि पनि सैमुन्द्री दस्तुर बुझाएको छैन भने तिनका छोराछोरीमाथि मावलीकै हक हुन्थ्यो र तिनैले हुर्काउँथे र पछि बिहेदान गरिदिने हक र रीतभात लिनेखाने हक पनि मावलीले नै पाउँथे । यस्तो रीतभातलाई क्वाजानी भनिन्थ्यो भनिन्छ ।

सैमुन्द्री दस्तुर र काजक्रिया
बिहे अघि नै सबै लाग्ने दस्तुरका रकम कलमसहित सैमुन्द्री रीत पनि बुझाए पछि भएको बिहे भने बैधानिक हुन्छ । बिहेदान गरेकी चेलीको कुलवंश पतिकोमा मिल्दछ र उसैले(उनको सन्तान) वा पतिपक्षले तिनको काजक्रिया गर्ने हक पनि पाउँथे(पाउँछन्) ।
तर सैमुन्द्री दस्तुर नबुझाएको भएमा भने तिनका जन्मेका सन्तान मरेमा काजक्रिया गर्ने हक पनि माइतीकै हुन्छ । जन्मेका सन्तान मरेमा क्रियाकर्म पनि बाबुले गर्न पाउँदैनथ्यो । पत्नी मरेमा पनि पतिले उसको काजक्रिया गर्ने हक समेत पाउदैनथ्यो (पाउँदैन) । तर हिजोआज भने बिहेपछि कालगतिले पत्नीको मृत्युभएमा पछिबाट पनि माइती खलकमा सैमुन्द्री दस्तुर बुझाएर काजक्रिया गर्ने हक पतिखलकले पाउँछ । आजका समयमा भने उहिलेका जस्ता दण्डस्वरुपका रीत बुझाइरहनु पर्ने अवस्थामा भने खुकुलोपन आएको देखिन्छ ।

पारपाचुके पछि सन्तानको वैधता
त्यसरी नै पति-पत्निका बीच कुनै कारणले पारपाचुके भएको अवस्थामा सैमुन्द्री रीत नतिरेको भएमा बाबु र आमासँग बाँडिएर बसेका सन्तानसमेत पहिले अवैध हुन्थे । ती बतासे सन्तानलाई वैधानिकता दिन निकै खर्च लाग्थ्यो । पारपाचुके भई पत्नीसँग बसेको सन्तानलाई पति-बाबु)ले मेरै सन्तान हो भन्दै वैधानिकता दिने विधिविधान धेरै खर्चालु हुन्थ्यो (चेम्जोङ, १९६१) । आमाबाबुसँगै बसेका यस्ता सन्तानलाई वैधानिक वा जायज(औरस) सन्तान तुल्याउन लाग्ने खोसायाङ दस्तुर भने होलो खुकुलो अर्थात् ठिकठिकै अङ्कमा हुन्थ्यो ।

खोसा याङ दस्तुर
यसरी बुझाइने दस्तुर लिम्बुवानका विभिन्न थुमका लिम्बूहरूमा भिन्नाभिन्नै पनि हुनसक्ने तथ्य हज्सन पाण्डुलिपि, भो.८५ को पृ. ६१, भो. ७४ का. पृ. ९ ख) ले देखाउँछ ।
सैमुन्द्री नतिरी जन्मेका सन्तानलाई वैधता दिन विभिन्न दस्तुरहरू नगदमा बुझाउनु पर्दा (क) फेदाप वा तेरथर(तमोर उपत्यकाको फागो) का लिम्बूहरू र (ख) फाकफोक(इलाम थुम बस्ने) का लिम्बूहरूमा यससम्बन्धी दस्तुरमा र अनुसरण गरिने विधिविधानमा समेत निकै भिन्नता (हज्सन पाण्डुलिपि, भो. ८५, पृ.६१ र भो. ७४, पृ.९ ख) देखिएका छन् । त्यसरी नै छोरा र छोरीका बीच टड्कालो विभेद (भो. ८५,पृ.६१ कि ६३, भो. ७४, पृ. ९ ख) देखिन्छ । बतासे छोरा र बतासे छोरीलाई वैधता दिन बुझाइने दस्तुरमा इलाम थुमको फाकफोकमा छोराको रु.१५ र सुँगुरको खोक्पा चाहिन्थ्यो भने छोरीलाई भने (तेरथरे कि फेदापे ) लिम्बूमा जत्तिकै तीस राखिएको छ । इलाम थुमको फाकफोकका लिम्बूका भनाइमा (हज्सन पाण्डुलिपि, भो.७४, पृ. ८-१०) पुरुष(केटो)मा राजाको हक लाग्ने हुनाले कम रकम लागेको हो । तर छोरीभने त्यसो हुन नसक्ने र मावलीको हकभित्र पर्ने हुनाले बढी रकम लागेको भनिन्छ ।
सैमुन्द्री नबुझाएका छोरीको बिहे पनि पछि मावलीले गरिदिन्छन् र क्वाजा/क्वाजानी भनेर रीत पनि खान्छन् । त्यसपछि खोसा हुन नदिन वा तिनलाई वैधानिकता प्रदान गर्न छोरीका लागि रु ३० र छोराका लागि रु १५ (पृ.६१) लाग्ने भनेर अन्यमा रीतमा खोक्लुङ नाक्पा थिक र खोसा याङ ङासि(पाँच) नगद दस्तुर उल्लेख गरिएको छ ।

सैमुन्द्री दस्तुर र पारपाचुकेपछि सन्तानको वैधताका लागि लाग्ने दस्तुर
स्वास्नीसँग पारपाचुके भएपछि सन्तान आफूसँग राख्न चाहने फेदापे (चेम्जोङ, १९६१) लिम्बूहरूमा प्रचलित सन्तानका बाबुले तिर्नपर्ने दस्तुर निम्नप्रकार छन् ः
फेदाप थुममा प्रचलित
खोसा याङ रु.५।
तिका याङ (सुब्बाले खान्या) रु.१।
फरसुत याङ (गाउँ प्रमुखले खाने) रु.२।
सिङ्चेम याङ (कार्बारिले खान्या) रु.१।
लुङ्याङ्बा याङ(ढुंगा गढाउनी अधेली पांच) रु.२।५ <mबष्तियस्रु.२।५श्र०
लुङ्गोबा(अक्पा) याङ(ढुंगा खोपाउनी रुपैया यक्) रु.१।

केधाक्पा याङ (वाचा बधाउनी) रु.।५०
खोसा याङ, येम्बित्छा (लोग्न्याछोराको दश र पाँच) रु.१५।
खोसा याङ, मेन्छिमा(स्वास्नी/छोरिको तिस) रु.३०।

उपरोक्त रीत सबै तिरेर विधिविधान पूरा गरी फेदापका लिम्बूले सिमल(तेङ्गो) र फलेदो(हेन्छिङ, भो. ८५, पृ. मा युवेन्सिङ) पनि रोप्दछन् भनिएको छ । माथि वर्णित फेदाप थुमका लिम्बूमा प्रचलित बतासे सन्तानलाई जायज बनाउने रीतभातको दस्तुरभन्दा केही भिन्नता फाकफोक थुम(इलाम, चारखोला)को थियो ।

इलाम चारखोला फकफोकमा प्रचलित रीत
फेदापका लिम्बूले झैं फाकफोक इलामका लिम्बूले पनि माथि वर्णित रीत तिर्दछन् तर बतासे छोरा र बतासे छोरीलाई वैधानिक बनाउने रकममा भने ठूलो भिन्नता छ । अर्को भिन्नता के भने फाकफोककाले भने सिमल र फलेदो रोप्दैनन् ।
चारखोला फाकफोकका लिम्बूमा प्रचलित दस्तुर यसप्रकार छन् ः
खोसा याङ, येम्बित्छा(छोरा) को रु.५।- तथा साथमा मेजबानी छिप्पिएको ठूलो सुँगुर एक,
खोसा याङ, मेन्छिमा(छोरी) रु.३०। तथा साथमा मेजबानी छिप्पिएको ठूलो सुँगुर एक,
यी सबै प्रकारका रीतभात बुझाएपछि स्मारकका लागि तेरथरे लिम्बूहरूमा तेङ्गो(सिमल) र हेन्छिङ(भलायो)का रूख रोप्ने चलन थियो । तर इलाम, फाकफोकका लिम्बूहरूमा सबै रीतभात बुझाएपछि स्मारकका लागि तेङ्गो र हेन्छिङका रूख रोप्ने चलन उति बेला नभएको उल्लेख पनि गरिएको छ ।
यसपछि यस्तो बिहे वैधानिक हुन्छ । पति र पत्नीका बीच पछि कलझगडा हुँदामा रोपेको तिनै रुखहरू देखाएर त्यसरी कलझगडा नगर्न भनेर सम्झाइन्छ (चेम्जोङ, १९६१) । त्यसपछिका तिनका छोराछोरी वैध मानिन्छन् ।

सन्तानलाई वैध तुल्याउने रीत
(१) कमारी पत्नी र सन्तान
कतिपय कुरामा छोरा र छोरीका बीचमा असमानता देखिए तापनि लिम्बू समाज समानताको धरातलमा आधारित रहेको कमारी पत्नी र विवाहिता पत्नीबाट जन्मेका सन्तानमा भेद नहुने तथ्यले पनि देखाउँछ ।
अब कमारीलाई स्वास्नी बनाएको छ भने त्यसबाट जन्मेका सन्तानलाई निखन्दा अर्थात् वैधानिकता दिँदा लाग्ने दस्तुर ः-

विवाह कार्य सम्पन्न गर्दा सबै रीत तिरेर पनि सैमुन्द्री रीतनतिरेको भएमा बिहे पछि जन्मेका सन्तानलाई वैधानिकता दिन सबै लिम्बू समान रुपमा लाग्ने दस्तुर (भो. ७४, ८-१०) निम्नानुसार छन् ः-

१. खोसा याङ (रीतभात तोडेको वा पुरा नगरेकोमा बुझाउनु पर्ने) रु. ५।
२. सिङखोसा-सिङखोक सा) याङ -केटीको दाजुभाइ, मामालाई दिनुपर्ने) रु ५।
३. फरसुत याङ रु. ५।
४. सिङ्चेम याङ(कार्बारी, दोस्रो वरियाताको गाउँप्रमुखले खाने) रु.२।५० <mबष्तियस्रु.२।५द्दछश्र०।
५. तिका याङ (बिहेलाई जायज दर्जा दिने दस्तुर, सुब्बाले खाने) रु.१।
६. तेङ्गो हेन्छिङ याङ (यस्तो बिहेको सम्झनामा रूख रोप्ने दस्तुर) रु. ५।
७. लुङ्नाबा याङ (यस्तो कामको स्मारक निर्माण बापतको खर्च) रु. ५।
८. लुङ्गोबा(अक्पा) याङ (ढुङ्गामा तिनको नाम खोप्ने दस्तुर) रु. १।
९. केधाक्पा याङ (बिहेको दस्तुर मिच्दैनौँ भनेर देवीदेवता भाक्दै
सबै मानिसका अगाडि कसम खाने दस्तुर) रु. ८।
१०. तकथेक याङ (केटीलाई पत्नीको जायज दर्जा दिने, भात चलाउने
बापतको दस्तुर) रु. ४०।
११. याङथेक याङ (पत्नीमाथि हक जमाउने दस्तुर) रु. ४०।

माथि भनिएका दस्तुर बुझाए पछि विवाह विधि सम्पन्न हुन्छ । र स्मारकका लागि ढुङ्गा गाडिन्छ -चेम्जोङ, १९६१) ।
त्यसपछि सिमल फलेदो रोप्छन् । लिम्बू जातिमा सबै रीतभात बुझाई सकेर मुन्धुम अनुसार ढुङ्गा रोपेन-गाडेन) र पछि तिनबाट छोराछोरी जन्मेको थाहा भयो र समाजमा पक्राउ परेमा तिनको सन्तानलाई वैधता दिन निम्नानुसारको रकम कलम बापतको दस्तुर बुझाउनु पर्दछ र्(ईमानसिंह चेम्जोङ, सन् १९६१, अनुवाद, हज्सन पाण्डुलिपि, भो. ७४, पृ. ८-१०) ।

फेन्जिक्कि फुमा र कान्धि फुमा रीत
त्यसरी जन्मेका सन्तानलाई वैधानिक गराउँदा बक्यौता रकम पछि जन्मेका सन्तान छोराछोरी प्रत्येकबाट टाउका गन्ती रु. ५ बिगो निम्म्नुसार भरिन्छ । जस्तै ः
१. यसपछि जन्मेका सन्तानबाट काङ्लेप्मा याङ् दस्तुर रु.५।
२. ऐ. तिनको सन्तान भानिज नाति/नी बाट भरिने अधेला ..५ अर्थात् -रु. २।५०)
३. ऐ. पटि्टबाटकै भानिज पनाति/नी बाट पेन्त्येन …रु. १।
४. छोरा भए कन्धनी चुँडाल्ने (फेन्जिक्कि फुमा) दस्तुर ….आठाना(आधाला) एक,
५. छोरी भए पोते चुँडाल्ने (कान्धि फुमा) दस्तुर ….आठाना(आधाला) एक,

यस्तो बिहेपछि जन्मेका छोरा वा छोरी, नाति र नातिनी तथा पनाति र पनातिनीसम्म बिगो भरिन्छ । तर जनाति र जनातिनीका पालादेखि भने यसरी तिर्नुपर्ने फेन्जिक्की फुमा र कान्धी फुमा (ऐ. भो. ७४, पृ.९) तिर्न पर्दैन । यस पछि बाबुबाजे बराजुले गरेका ऋणपानबाट चारपुस्तापछिका सन्तानहरू भने सदाका लागि मुक्त हुन्छन् ।

अनैतिक बिहे ः हाडफोरा वा दुधफोरा
अनैतिक बिहे वा सम्बन्ध भनेको हाडको साइनो भंग गर्ने वा दूधको साइनो भंग गर्ने काम हो । हाडनाताभित्र तथा दूधको नाताभित्र अनैतिक सम्बन्ध राखेर बिहे गर्ने व्यभिचारीका हकमा लिम्बूजातिमा प्रचलित आफ्नै रीतिथिति हुन्छन् ।
दूबोढुङ्गोको रीत
हाडफोरा वा दुधफोरालाई गाउँको सुभा(प्रमुख)का सन्मुख उपस्थित गराएर पाप कबोल गर्न लाइन्छ । ढुङ्गा गाडिन्छ र त्यस्को टुप्पामा दूबो राखिन्छ जसमाथि नगद(रु. ८) पनि राखिन्छ । आरोपित व्यक्तिले नगद दण्ड (रु. १५ देखि ३० सम्म) तिरेर प्रायश्चित गर्नु पर्दछ ।

वामिकको अनुष्ठान शुद्धिको अनुष्ठान
उतिबेला फेदाङ्मा, साम्बा तथा येबायेमामा पनि खास गरेर येमाले आकाश, पृथ्वी, घाम तथा जून भाकेर नगद रु. १ राखी राँगो भीरबाट लडाएर मारी राँगाको बली दिइन्थ्यो भन्ने तथ्य पनि हज्सन पाण्डुलिपिले देखाउँछ । त्यसपछि घरको भित्र र बाहिर जाँडपानीले र्छकंदै येमाले चोख्याउँथे । तिनलाई एकाअर्काबाट अलग गरिन्थे । हाडनाता वा दूधका नाताभित्र अनैतिक सम्बन्धजन्य क्रियाकलापले लिम्बू समाजभित्र एप्ले नामक पापको जन्म भएको हो भनिन्छ । एप्ले जस्तो पापकर्मलाई नाश गर्न सक्ने हुनाले बिजुवानी (येमा) लाई एप्लेलाई खानसक्ने (एपले केजामा) भनिन्छ । उसलाई यसरी गरेको अनुष्ठानबाट हाडनातामा बिग्रनेहरूको पाप पखालिन्छ । तर त्यस्ता व्यभिचारीहरू जसले समाजले बाँधेको व्यवस्था नमानेर काइसङ्धोक वा काइफेक्मा वा हाडनाता फोर्दछन् र भाग्दछन्, तिनलाई गाउँसमाजबाट निकाला गरिन्छ । वंशबाट पनि हटक गरिन्छ ।
यति मात्र होइन, एकाघरका दाजुको पत्नी अर्थात् सहोदर भाउजुसँग व्यभिचार ।अभिचार गर्ने भाइलाई जारलाई झै काट्न पाइने चलन उसबेला देखिन्छ ।
आफ्नो पत्नीले अरू कसैसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएमा काट्न पाउने हक उसबेला पतिलाई थियो । तर आफ्नो पत्नी राख्न मन परेमा र बिगार्ने वा दोषी पत्नीले दाम राखी क्षमायाचना गरेमा पतिले नै उसलाई राख्न पनि सक्दछ भन्ने पनि देखिन्छ । मन नपरेमा वा त्यस्तो व्यवस्थामा असहमत पतिले पत्नीलाई काट्न पनि सक्ने चलन उसबेला भएको देखिन्छ । तर व्यभिचार गर्ने पुरुष वा जारसँग रु. ८० लिएर पत्नीलाई आफै लान वा राख्न पनि दिइन्थ्यो भन्ने पनि बुझिन्छ ।
यी सबै कुराको छिनोफानो गर्ने अधिकार भने गाउँको सुभा(सुब्बा) को हुन्थ्यो । सुभा(सुब्बा) ले त्यस्ता कुराका हकमा निसाफ गरेबापतमा चकुई दस्तुर भनेर रु. ५ लिने चलन उसबेला थियो ।

सर्न्दर्भ सूची

Note: this article is taken from facebook status of Mr. Til Bikram Nembang “Bairagi Kainla”.

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )