तोङ्बाको रसको रहस्य

तोङ्बा भन्ने बित्तिक्कै लिम्बू मात्र नभएर गैर-लिम्बू तोङ्बाका पारखीहरुको मुख रसाउछ र आत हर हर भएर आउँछ । जस्ले रस चाखेको हुन्छ उसैले मात्र यसको स्वाद थाहा पाउछ । तर जस्ले मद्यपान गर्नु हुँदैन र यसलाई एकदमै खराब हो भन्नुहुन्छ, उहाँहरुले यसलाई मान्छे बिगार्ने तत्वको रुपमा लिनुहुन्छ । तोङ्बालाई जस्ले खान्छन् उनीहरुले राम्रो मान्छन् भने जस्ले खादैनन् उनीहरुले गलत मान्छन् । अनि तोङ्बा खराब हो भन्ने बिचारधाराले प्रेरित हुने जमातले तोङ्बा बन्द गर्ने अभियान धेरै पटक चलाएका पनि छन् । पटक पटक तोङबालाई समाज बिगार्ने, कुसंस्कृति, महिला माथि हुने हिंसाको कारक तत्व, सम्पत्ति सकाउने बस्तु, मान्छेलाई जनावर बनाउने पदार्थ भनी अनेक किसिमका आरोपहरु लागेका छन् । तर यत्ति हुँन्दा हुन्दै पनि तोङ्बा किन यत्ति प्रचलित भएको होला ? यो खराब वस्तु हो भने हाम्रा पितापूर्खाले किन यसलाई हजारौ वर्षेखि खान्दै आएका होलान् ? यसले किन लिम्बू संस्कृतिमा महत्वपूर्ण स्थान पाईराखेको होला ? अनि यो महिला माथि हुने हिंसाको कारक तत्व हो भने किन हजारौं वर्षेखि खुशी खुशी हाम्रा बोजु र आमाहरुले यसलाई बनाउँदै आएका होलान् ? जबजब यस चिजको बिरोधमा विभिन्न स्वरहरु गुन्ञ्जन थाल्छन् अनि सोच्न मन लाग्छ, यो साँचै नै खराब वस्तु हो भने यो हाम्रो संस्कृतिको अभिन्न अंग किन बनेको होला अनि किन यसलाई हाम्रा पूर्खाहरुले थामेर ल्याएका होलान् ?

यिनै प्रश्नहरुको उत्तर खोज्दै जान्दा, तोङ्बा खाने र त्यसलाई निरन्तरता दिने विषयलाई मैले यहाँ आफ्नै ढंगबाट व्याख्या गरेको छु जुन अरुलाई पनि तर्क संगत लाग्छ होला । परम्परागत रुपमा लिम्बू समुदाय बस्ने भौगोलिक क्षेत्र भनेको पहाडी र हिमाली क्षेत्र हुन् । पहाड जहाँ वर्षो धेरैजसो समय जाडो हुने गर्दछ अनि त्यस्ता ठाउँमा बालिनाली लगाउने, फलाउने र पाक्ने काम पनि तर्राईको जस्तो छिटोछिटो हुँन्दैन । चिसो हुनेहुँदा त्यहाँ शरीरलाई न्यानो राख्ने खाद्य तथा पेय पदार्थ खाई राख्नुपर्छ । शरीर तातो गर्ने वस्तु मध्ये जाँड पनि एक हो । हुन त चियाले पनि शरीरलाई तातो बनाउँछ तर जाँडले जति लामो समयसम्म शरीरलाई तातो बनाएर राख्छ त्यति चियाले बनाउँदैन । त्यसैले पनि जाँड लोकप्रिय छ । तातो मात्र हैन तागतको कुरा गर्ने हो भने पनि चिया भन्दा जाँड धेरै तागतिलो हुन्छ । गाउँघरमा काम गर्दा जाँड खाएर गर्ने गरिन्छ किनभने यो धेरै तागतिलो हुन्छ अर्थात् चियामा भन्दा जाँडमा धेरै गुणा बढी क्यालोरी (शरीरमा उब्जने तागत वा शक्तिलाई क्यालोरीमा नाप्ने गरिन्छ) हुन्छ । यहाँ जाँडलाई चियासंग दाज्नुको कारण नमात्ने र सजिलै प्राप्त हुने पेय पदार्थ चिया हुने भएकोले गर्दा नै हो । त्यसैगरी पहाडमा अन्य अन्नपात कम फल्ने र त्यहाँ हुने खेती मध्ये कोदो प्रमुख भएको कारण कोदोको प्रयोग जाँड खानको लागि पनि गरिएको हो । कोदोमा पैष्टिक पदार्थहरु जस्तै फलाम (आइरन) र भिटामिनको मात्रा बढी रहेको कुरा पनि विशिषज्ञहरुले बताएका छन् ।

चिसो ठाउँमा मानिसहरुले पानी कम पिउने गर्छन्, कम पानी पिउनु शरीरको लागि राम्रो हुँदैन र जाँड खानाले शरीरमा हुने पानीको कमीलाई पुरा गर्छ । जाडो मौसममा पानी खानु त्यत्ति मन पर्दैन तर जाँडले पानीलाई स्वादिलो बनाइदिन्छ र त्यो खानु मान्छेलाई गाह्रो हुँदैन । त्यसैसंग जोडिएको अर्को कुरा के हो भने कुवा, पधेरो वा खोलाको पानी सिधै खानाले रोगहरु लाग्ने धेरै संभावना हुन्छ । तर जब जाँड खाइन्छ त्यस बखत पानीलाई तताएर खाइन्छ जस्ले गर्दा सजिलै रोग लाग्ने वा र्सर्ने कम हुन्छ । यसले मानिसलाई स्वास्थ्य राख्ने काम पनि गरेको छ । तोङबा वा जाँड लिम्बूहरु आफैले आफ्नै ठाउँमा बनाउन जानेका/सिकेका हुन् किनभने यसको मिथक लिम्बू मुन्धुम र लोक कथामा सुन्न पाइन्छ । आफैले बनाएको र जानेको चीजलाई कसैले पनि त्यत्तिकै भुल्न वा त्याग्न सक्दैन । त्यसैले पनि यसले लिम्बूहरुको जीवनमा महत्वपूर्ण स्थान राख्दछ तर चिया वा अन्य पेय पदार्थले त्यस्तो स्थान पाएको छैन । तोङ्बाको स्थानमा वियर, चिया वा अन्य पेय पदार्थले स्थान पाएको छैन किनभने ती वस्तुहरु लिम्बूहरुको सांस्कृतिक वस्तु भएको छैन । चीन तथा जापानको कुरा गर्ने हो भने त्यहाँ चिया सांस्कृति वस्तु भएको छ र उनीहरु चिया बनाउने र खुवाउने अनुष्ठान नै गर्ने गर्छन् किनभने चियाको उत्पत्ति र विकास त्यहीबाट भएको हो । जुन ठाउँबाट कुनै चिजको उत्पत्ति र विकास भएको हुन्छ त्यस वस्तुले त्यो समाजमा अवश्य पनि महत्वपूर्ण स्थान पाउने गर्दछ । तोङबाले पनि लिम्बू संस्कृतिमा महत्वपूर्ण स्थान पाउनुको कारण यिनै हुन् ।

जाँड खाएर मात्तिनु वा घरेलु तथा सामाजिक हिंसा बढाउने कुरा चाहि मानिसको प्रवृत्तिमा भर पर्ने कुरा हो । कुनै व्यक्तिलाई कसैसंग पहिले देखिनै रिस उठेको छ र त्यो व्यक्तिसंग झगडा गर्नुछ भने जाँड-रक्सी खाएर आफूलाई उत्तेजित गराउँदछ र झगडा गर्नको लागि तयार हुन्छ । तर संसारमा जाँड-रक्सीलाई संस्कृति बनाएका धेरै देशहरु छन् र त्यहाँका मानिसहरुले जाँड-रक्सी खाएर पनि धेरै विकास गरेका छन् । यत्ति मात्र नभएर जाँडले एक आपसमा मेल पनि त गराउछ, नत्र लिम्बू संस्कृतिमा शिर उठाउँदा, पूजाआजा गर्दा, केटी माग्न जाँदा, ढेगभेट गर्दा, मर्दापर्दा, रमाइलो गर्दा किन तोङ्बा/जाँडकै प्रयोग गरिन्थ्यो होला त ? हामीले एउटा कुरामा चाहि सधै ध्यान दिनुपर्छ त्यो हो धेरै खादा कुनै पनि चिजले फाइदा गर्दैन । जाँड पनि त्यस्तै हो र यसलाई व्यवस्थित ढंगले खायो भने यसका बेफाइदा भन्दा फाइदा धेरै छन् भन्दा फरक नपर्ला । त्यसैले त चुम्लुङले चार “ज” लाई ध्यान दिनु भन्छ । चार ज अर्थात् “जहाँ पायो त्यहि, जस्ले पायो त्यस्ले, जहिले पायो त्यहिले, जति पायो त्यति जाँड-रक्सी नखाऊ” ।

(यो लेख तान्छोप्पा मासिकमा प्रकाशित भएको थियो)

4 thoughts on “तोङ्बाको रसको रहस्य”

  1. राम्रो रैछ लेख, कारण पढ्न शुरु गरे देखि नसकिए सम्म छोड्नै मनलागेन।
    मलाइ त के लाग्छ भने नि हरेक मान्छे केहि न केहि गरिराख्न चाहन्छ। त्यस्तो केहि कुरा भएन भने मात्र addiction मा लाग्ने वा drunkard हुने हो। तर ड्रिंक (जे सुकै) गर्दैमा समाज बिग्रिने त होइन, समाज सिछित छ भने देखि।

    Like

  2. चेलि शिर्जना ! तपाइको यो तोङ्बा भन्ने लेखलाइ पटक पटक दोहोराई पढे ठिकै लाग्यो तर एउटा कुरा दिदि या बहिनी के हुनु भो तपाई यो जाँडको कुरालाई यति मिठो शब्दमा लेखियो सायद त्यसको स्वाद पाउनेहरुले पनि यती मिठो स्वाद पाएका थिएनन होला | तर यसले सिमित रुपमा प्रयोग गर्नाले कसैलाइ फाइदा गर्ला तर नसालु पर्दाथ भनेको जसको सिमा हुन्न जति सेवन गर्यो त्यती गरौ लाग्ने | यो हामिले खाने भात र यस पेय पर्दाथमा धेरै अन्तरता छ |यसको कन्ट्रोल क्सैले गर्न सकिराखेका छैनन | अनि हामीले अझै पनि यस्ता बिषय बस्तुलाइ सर्बमान्यता दिई लेखिनुमा म अबुझ लाटाको बिचारमा केही प्रस्न हरु उब्जीएकोले मैले एक सब्द कोरी हले माफ गर्नुहोला !हो लेखिएको बिषय बस्तु भनेको हम्रो रितीरिवाज पनि परम्परामा आधारित छ तर पनि यस मा सबैकुरालाई समेटेर तोङ्बा पिउनुनै पर्ने मान्यता दियीएको छ | हामिले कुवाको, इनारको, खोलाको पानिलाइ पनि त तातो पारेर किटारु नस्ट पारी पिउन सक्दैनाउ र ? आखिर ज़ाड्को तोङ्बा बानाउदा पनि त पानि त तताउनै पर्ने रहेछ | औलोको माने मैले त यति मात्र जाने यतिकैमा मा ओझेल पनि परे ल| ए साच्चै यो जाड भनेको तरल पर्दाथ हो यसमा खाने भनेर लेख्नु भन्दा पिउने भन्दा चाइ अलिक राम्रो नहोला र ? तर सरि है ल ग़र्ने भन्दा हेर्ने बठो भनेझै भएकोमा ल

    Like

  3. तोङ्बा अहिलेसम्म पिउने अवसर मिलेको छैन, तर धेरै कुरा सुनिएको छ यसको बारेमा। तोङ्बाको बारेमा तपाईँको लेखबाट धेरै थाहा भयो। धन्यबाद छ तपाईँलाई।

    Like

  4. अब नेपाल आउनु भएको बेला तोङ्बाको रसको स्वाद लिनुहोला । तर चुम्लुङ -लिम्बू जातिको जातिय संस्था) ले भने जस्तै चार “ज” लाई भनेको कुरालाई अवस्य ध्यान दिनुहोला । चार “ज” भनेको “जहाँ पायो त्यहि, जस्ले पायो त्यस्ले, जहिले पायो त्यहिले, जति पायो त्यति जाँड-रक्सी नखाऊ” अर्थात् ठाउँ, समय र सर्न्दर्भ अनुसार सभ्य तरिकाले खाऊ भनेको हो र यो कुरा हामी सबैले ध्यानमा राखे सबैको भलो हुन्छ ।

    Like

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )