Posted by: sirjana | November 27, 2008
घुस खुवाउँदा गर्व गर्ने कि लाज मान्ने ?
घुस लिने र दिने दुवै देशका शत्रु हन् भन्ने भनाई नेपालका राजा पृथ्वी नारायण शाहले करिब १३५ वर्षअघि भनेका थिए । उनले त्यो वेला पनि उनका कर्मचारीहरुलाई घुस खुवाउने र कर्मचारीहरु घुस खाने रहेछन् भन्ने बुझिन्छ । यस बारे थाहा पाएर नै होला उनले कुनै दिन नेपाल घुसखोरीले ग्रस्त हुन्छ भनेर यो बारे सबैलाई सचेत गरेका रहेछन् । जे होस् घुसको कुरा नेपालमा पहिले देखि नै चलि आएको एउटा (नराम्रो) चलन रहेछ भन्न सकिन्छ । तर यो चलन नराम्रो हो भन्ने सबैलाई थाहा भए पनि घुस खुवाउनु हाम्रो समाजमा गर्वको कुरा हो कि जस्तो लाग्न थालेको छ ।
म मान्छेहरु बाटोमा, रेष्टुरेन्टमा, भोजभतेरमा, घरमा अनि भेटघाटमा कुरा गरा गरीरहेको सुन्छु । यत्ति काम गर्नको लागि मैले यत्ति पैसा दिए । फलानोले फलाना काम गर्न फलानालाई उत्ति पैसा खुवाएछ । यत्ति हजार घुस मागेको थियो तर मैले यत्तिमा मिलाए । आदि इत्यादि । यस्ता कुरा मैले मात्र होइन अन्य कयौ नेपालीले दैनिक जीवनमा सुनिरहेको कुरा हो । यी कुराहरु सुन्दा लाग्छ उनीहरुलाई घुस खुवाएको कुरा भन्दा गर्व लाग्छ ।
करीब डेढ वर्षअघि मैले स्कूटरको लाइसेन्स लिने बेलामा यस्ता धेरै कुराहरु सुन्नु परेको थियो । लाइसेन्स लिनको लागि तयारी गर्दा धेरैले किन दुःख गर्र्छौ पैसा देऊ लाइसेन्स घरमा नै आइपुग्छ । तर मलाई लाग्यो आखिर मैले स्कूटर चलाउन जान्नै पर्छ र चलाउन जानेको पनि छ र जानेको कुरालाई किन घुस खुवाएर लाइसेन्स निकाल्ने । हामी जस्तो पढेका र बुझेका युवाहरुले नै गैरकानूनी काम गर्न थालेपछि हामी पछिकाले के सिक्लान् भन्ने हामीले बुझ्नु पर्छ । अनि मैले लाईसेन्सको परिक्षा दिए र पास पनि गरे । परिक्षा पास गरेको एक हप्ता पछि लाइसेन्स लिन जान्दा एक जाना छिमेकी दिदी कामले यातायात कार्यालय पुग्नु भएको रहेछ । यातायात कार्यालयमा लाइसेन्स लिन आएको भन्दा छक्क परेर हेर्नुभयो र मलाई हाँस्दै किन दुःख गरेको भनेर प्रश्न गर्नु भयो । उहाँले आफूले लाइसेन्स ५ हजार दिएर बनाएको र त्यो पनि घरैमा आएको कुरा गर्नु भयो । उहाँको बोलीमा मैले परिक्षा दिएर लाइसेन्स लिन मूर्खतापूर्ण काम गरेको भन्ने भान थियो । उहाँ आफूले घुस खुवाएर लाइसेन्स निकाल्नु भएको गर्व गर्दै हुनुहुन्थ्यो । अनि मलाई त्यसै बेला घुस खुवाउनु नेपालमा गर्वको कुरा हो कि क्या हो भनेर लेख लेख्न मन लागेको थियो । अनि हिजो एउटा साथीले गाडिको लाइसेन्स लिदा तेस्रो पटकको परिक्षामा पास गरेछ र उसलाई पनि धेरैले पैसा खुवाएर लाइसेन्स लिने सुझाव दिएको रहेछ । तर उसले ३ पटक त के ३० पटक भए पनि परिक्षा दिएर नै पास गर्छु भनेछ । एक दुइ जना घुस नखुवाई लाइसेन्स निकाल्ने पनि रहेछौ भनेर खुशी लाग्यो । तर घुस खुवाएर लाईसेन्स वा कुनै पनि काम गर्ने सुझाव दिनेहरु देखेर मलाई हरेस लाग्छ । घुसको विषयमा कुरा गर्यौ भने हामी प्रायः कर्मचारीको मात्र कुरा गर्छौ तर हामी उपभोक्ता वा सेवाग्राहीको पनि घुसखोरीमा उत्तिकै ठूलो हात छ । यस कुरालाई हामी प्रायः ध्यान दिदैनौ । घुस खानेलाई चाहि नानाथरि भन्न बाकि राख्दैनौ तर घुस खुवाउनेलाई चाहि घुस खुवाउन सक्ने पैसावाल रहेछ भनेर चुप लाग्छौ । तर यसरी कत्तिन्जेलसम्म घुस खुवाउनेलाई समाजले सम्मान गर्ने हो र घुस खुवाउने काममा गर्व गर्ने हो ?
निश्चित रुपमा लाज मान्नुपर्ने कुरा हो यो। तर हाम्रो सामजिक मानसिकता भ्रष्ट भएर गएको प्रमाण हुन् घूस खुवाऊँदा अथवा खाँदा गर्व गर्ने चलन, भ्रष्टाचारमाथि गर्व गर्ने चलन अथवा भ्रष्टाचार गरेर अकूत कमाउनेहरुलाई बहादुर मान्ने चलन।
प्रसंगवश, तपाईँले घरमै बसी-बसी लाईसेन्स निकालिने कुरा गर्नुभएको छ; विदेश बसी-बसी पनि नेपालको लाईसेन्स निकालिन्छ। त्यस्ता धेरै मान्छे मैले यहीं जापानमै पनि भेटेको छु। ती पनि आफ्नो ‘बहादुरी’मा बहुत गर्व गर्छन्!
By: Basanta on November 27, 2008
at 12:07 pm
लाग्न त मलाई पनि उनीहरुले लाज मान्नु पर्ने हो र त्यस्ता व्यक्तिलाई घृणा गर्नुपर्ने हो तर त्यस्तो छैन । अनि जापानमा बसेर पनि नेपालको लाईसेन्स निकालेको कुरा सुन्दा झनै अचम्म लाग्यो । घुस खुवाउँदा कस्तो कस्तो नहुने काम पनि बनिने रहेछ यो देशमा । हामी नेपालीले नै आफ्नो देशको इज्जत फाल्ने काम गर्र्छौ त्यसैले त विदेशीले हामीलाई हेप्ने गर्छन्, होइन त ?
By: sirjana on November 27, 2008
at 12:58 pm
कहिलेकाही हाम्रो देशको प्रशासनिक खिचलोको कारणपनि यो हुने गरेको छ ।
बसन्त जी ले माथि भन्नु भए जस्तै मैले पनि अमेरिकामा बसेर नेपाली ‘सवारी चालक अनुमति पत्र” होम डेलिभरिमा लिएको धेरैचोटि देखेको-सुनेको छु ।
सुन्दा अचम्म लाग्ला, तर विदेशमै बसेर नेपालमा ‘कोर्ट म्यारिज’ र ‘डिभोर्स’ सम्म गर्न सकिन्छ ।
कहिले काहि विदेशमा बस्दा, नेपाल आउने-जाने आदि समस्या र अधिक खर्चको मारबाट बच्न पनि यसो गरिन्छ र यो यौटा यसको ‘मार्मिक पक्ष’ हो ।
तर स्थिति जे जस्तो रहे पनि घुस खुवाउँदा गर्व गर्ने हैन लाजै लाग्नु पर्ने हो।
By: Dilip Acharya on November 27, 2008
at 3:14 pm
श्रीजना जी प्रसंग त सारै राम्रो उठाउनु भयो।तर के गर्ने जस्तो सुकै सानो तिनो काम नहोस।हरेक ठाउ आफ्नो र आफन्त हुनुपर्ने यदि कोहि नभए उहि टेबुलमुनितिरबाट काम गर्नु पर्ने यदि एस्तो नहुदोहोत सानो सर्कारी जागिरेले कसरी बिल्डिङ ठडाउथ्यो होलार?अनि घुस खुवाएर आफ्नो काम छिटो भएको अनि आफुलाई ठुलो र सभ्रान्त ठान्ने हाम्रो नेपालि समाजको घैटोमा घाम नलागे सम्म त लाज नै लाग्नु पर्ने जस्तो लाग्छ मलाई त।
By: sangam on December 1, 2008
at 8:53 pm
really bribery has become a part of life which shouldn’t be….it is definitely a shameful thing but we accept as a common thing.. it is really hard to get rid of this because which ever party forms the government doesn’t effect the system of Nepal…i wonder how can we get rid of this…..
By: Ashish Lohorung Rai on December 3, 2008
at 4:51 pm
Ashish Bhai, I agree with you. Government must be strict and perform well. But citizens also need to play their role to control it instead of giving bribe.
By: sirjana on December 6, 2008
at 4:18 pm